
काठमाडौँ । विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिनको सम्झनामा प्रत्यक वर्ष मे २९ मा मनाइने अन्तराष्ट्रिय सगरमाथा दिवस नेपालमा विविध कार्यक्रम गरि मनाइदै छ । ७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरिएको छ ।
सन् १९५३ मे २९ तारिखका दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकेका थिए । सोही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे २९ का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो । यस वर्ष सरकारले विभिन्न कार्यक्रमको आयोजना गरी सगरमाथा दिवस मनाउने कार्यक्रम तय गरेको छ । दिवस मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समिति गठन गरिएको छ ।
दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा कीर्तिमानी आरोहीका अनुभव आदानप्रदानका साथै साहसिक पर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनले हिमालमा पारेको प्रभाव न्यूनीकरणबारे बहस हुने कार्यक्रम रहेको छ । दिवसकै अवसरमा विभिन्न कीर्तिमानी आरोहीलाई सम्मान गरिने कार्यक्रम समेत रहेको छ ।
दिवसकै पूर्वसन्ध्यामा एभरेष्ट एलायन्स नेपालले विश्वका विभिन्न २५ मुलुकका सगरमाथा आरोहीहरूलाई एकै स्थानमा भेला गरेर सम्मान गरेको छ।एभरेष्ट समिटिएर्स समिट नाम दिइएको उक्त कार्यक्रममा नेपालसहित चीन, भारत, अमेरिका, पाकिस्तान, अष्ट्रेलिया, बेलायत लगायत राष्ट्रका सगरमाथा आरोहीहरूलाई सम्मान गरेको हो ।
विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण भएको ७२ वर्ष पुगेको अवसर एभरेष्ट समिटिएर्स समिटमा आरोहीहरूलाई सम्मान गर्दै उत्सव मनाइएको हो ।विश्वभर चर्चा रहेको जलवायु परिवर्तन र यसको असरबारे बहस भइहरँदा एभरेष्ट समिटिएर्स समिटमा पनि विभिन्न प्यानल डिस्कसन मार्फत क्लाइमेट चेन्ज र सगरमाथा आरोहण लगायत विषय विषयवस्तुमाथी छलफल समेत भएको थियो ।

दिवसका अवसरमा विभिन्न संघसंस्थाहरुले शुभकामना समेत दिएका छन । दिवसका अवसरमा लुम्बिनी पर्यटन सञ्चार प्रतिष्ठानले सगरमाथाको शिखरसम्म पुग्ने साहस जस्तो हरेक नेपालीको जीवनमा प्रेरणा जागोस, साहस, समर्पण र प्रकृतिप्रतिको सम्मानको प्रतीक सगरमाथा, यसको रक्षा र गौरव बढाउन हामी सबै प्रतिबद्ध बन्न सकौँ भन्दै हाम्रो गौरव, हाम्रो शिर उँचो बनाउने सगरमाथालाई सम्मान गर्दै, सबैमा शुभकामना व्यक्त गरेको छ





