पर्सा । तराईमधेसको महान पर्वका रुपमा मानिने छठ पूजा नजिकिँदै गर्दा नेपालको आर्थिक राजधानी वीरगंज शहर पूरै छठमय बनेको छ । दीपावली सकिएसँगै तराईमधेस लगायत देशभर छठ पर्वको तयारी र चहलपहल सुरु भएसँगै बजार र सडकहरूमा विशेष रौनकता देखिएको छ । 


कार्तिक शुक्ल पक्षको चौथी तिथिदेखि विधिवत रुपमा सुरु हुने यो पर्व सप्‍तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सम्पन्न गरिन्छ । मधेशी समुदायको प्रमुख र सबैभन्दा ठूलो धार्मिक पर्वका रूपमा मनाइने छठ पूजाको लागि आवश्यक पूजन सामग्री, प्रसाद, भाँडावर्तन, लत्ताकपडा आदिको किनमेल गर्न बजारमा भीडभाड निकै बढेको छ ।
वीरगंजका रानीघाट, मुर्ली, छपकैया, स्विमिङ पुल, नगवा, सिर्सिया नदी, पोखरी तथा अन्य जलाशयहरूमा छठी माताको आराधना हुने भएकाले ती स्थानहरुको सरसफाइ र सजावटको काम तिब्र गतिमा भइरहेको छ । बजारमा ब्रतालु र श्रद्धालुहरूको भीडले उत्सवमय वातावरण थपिएको छ ।


वीरगंजको मुख्य आकर्षणको केन्द्रका रुपमा रहेको घडिअर्वा पोखरीलाई यसपटक दुलहीझैँ सिँगारिँदै छ । घडिअर्वा स्पोट्र्स क्लबको आयोजनामा हुने यस घाटमा ब्रतालुहरूलाई सहजताका लागि नयाँ सूर्य मन्दिर समेत निर्माण गरिएको छ ।
घडिअर्वा छठ पुजा व्यवस्थापन समितिका अध्यक्ष राकेश कुमार साहले पछिल्ला २३ वर्षदेखि निरन्तर छठघाट सजाउँदै आएको घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले यस वर्ष करिब २५ लाख रुपैयाँको लागतमा भव्य पूजा आयोजना गर्ने तयारी गरेको छ । यस घाटमा हिन्दु, मुस्लिम लगायत विभिन्न धर्मावलम्बीहरू एकै ठाउँमा भेला भई श्रद्धा र सद्भावका साथ छठी माताको आराधना गर्ने परम्परा रहँदै आएको छ । 


आकर्षक टेन्ट, पण्डाल र झिलिमिली बत्तीले पोखरी परिसरलाई सजाउन मात्रै पनि लाखौं रुपैयाँ खर्च गरिँदैछ । वीरगंजवासीको सामूहिक सहभागिताले यो पर्वलाई अझ भव्य र धार्मिक उत्सवको रूप दिन लागेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0