
पर्सा । पत्रकारहरूको लागि वित्तीय साक्षरता प्रवर्द्धन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंक, वीरगंज मकवानपुरमा आयोजना गरेको कार्यक्रममा वीरगंज कार्यालयका प्रमुख सुशील पौडेलले आम नागरिकमा वित्तीय पहुँच र साक्षरता विस्तार गर्न सञ्चारकर्मीहरूकाे भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सही र विश्वसनीय वित्तीय जानकारी जनतासम्म पु-याउने प्रमुख माध्यम सञ्चार क्षेत्र भएकाले पत्रकारहरू सचेत र जानकार हुनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, बैंकका सहायक निर्देशक नरेश सर्राफले वित्तीय प्रणालीको संरचना, बैंक तथा वित्तीय संस्थाहरूको कार्यप्रणाली, तथा डिजिटल कारोबारको बढ्दो प्रयोगबारे जानकारी दिनुभयो । उहाँले डिजिटल भुक्तानी प्रणाली विस्तारसँगै साइबर सुरक्षाबारे सचेतना अपरिहार्य बन्दै गएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वित्तीय साक्षरता, बैंकिङ प्रणाली, डिजिटल भुक्तानी सेवा, बचत तथा लगानीका प्रभावकारी उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो । यस्ता कार्यक्रमले पत्रकारहरूको ज्ञान तथा क्षमता अभिवृद्धि गर्नुका साथै आम नागरिकमा वित्तीय सचेतना फैलाउन महत्वपूर्ण योगदान पु-याउने सहायक निर्देशक सर्राफले बताउनु भयो ।
वित्तीय साक्षरता विस्तारमा सञ्चार क्षेत्रको भूमिका अझ प्रभावकारी बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर संचालन गरिने आयोजकले जनाइएको छ । कार्यक्रममा पर्सा, बारा, रौतहट, मकवानपुर तथा चितवन जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो ।





