
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना भएको छ ।शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल पापडले संविधान दिवसको अवसर पारेर वृहत् शान्ति र्याली निकालेको छ । माइतीघरबाट सुरु भएको र्याली शहीदगेट हुँदै त्रिपुरेश्वर पुगेको थियो ।
नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संविधान दिवस मनाएको छ । कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल सहितका नेता कता कार्यकर्ताको उपस्थित रहेको थियो । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवस मनाएको छ । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएनन् ।
अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायतको कार्यक्रम भने स्थगन भएका छन् ।नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धि स्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।
२०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए ।





