
काठमाडाै । नेपाल प्रिमियर लिग एनपिएलमा विराटनगर किंग्सले रोमाञ्चक जित निकालेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा अन्तिम ओभरको सुरुवाती पांँच बलमा १७ जोड्दै विराटनगरले लुम्बिनी लायन्सविरूद्ध २ विकेटको रोमाञ्चक जित निकालेको हो।
अघिल्ला दुई खेलमा पराजित भएको विराटनगरको यो पहिलो जित हो। लुम्बिनी भने आफ्नो पहिलो खेलमा पराजित भयो। लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले आठ विकेट गुमाएर अन्तिम एक बल बाँकी छदा पूरा गर्यो।
अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १५ रन चाहिएको थियो। जसमा लुम्बिनीका विवेक यादवले पहिलो दुई बलमा वाइड फ्याँके लगत्तै अर्को बलमा कप्तान सन्दीप लामिछाने आउट भए। दोस्रो बल डट हुँदा तेस्रो बलमा क्रिस सोलले छक्का प्रहार गरे। चौथो र पाँचौ बलमा चौका प्रहार गरेर सोलले विराटनगरलाई रोमाञ्चक जित दिलाए। अन्तिम दुई बलमा तीन रन चाहिए पनि सोलले पाँचौ बलमा चौका प्रहार गरे।
त्यसअघि विराटनगरको जितको आधार तयार गर्न ओपनर लोकेश बमले अर्धशतक प्रहार गरे। १८औं ओभरको चौथो बलमा रेमन्ड सिमन्सको बलमा सन्दीप जोराबाट क्याच हुनुअघि उनले ७१ रन बनाए। उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गरे।
अर्का ओपनर इस्मत अलाम भने शून्यमै आउट भएका थिए। उनी आउट भएपछि ब्याटिङमा आएका मार्टिन गप्टिलले १७ बलमा २८ रन जोडे। आठौं ओभरमा दुर्गेश गुप्ताबाट बोल्ड हुनुअघि उनले ६ चौका प्रहार गरे।राजेश पुलामी ४ रन र निकोलास किर्टोन शून्यमा आउट भए। दुवैलाई साद बिन जफरले दशौं ओभरको तेस्रो र चौथो बलमा लगातार आउट गरेका थिए।
लोकेश बमसँग ८१ रनको साझेदारी गरेका बसिद अहमद ४० रनमा आउट भए। उनी १७औं ओभरमा आउट हुँदा अर्को ओभरमा लोकेश पेभिलियन फर्के। लोकेश र बसिर आउट हुँदा विराटनगरमाथि दबाब परेको थियो। १९औं ओभरमा प्रतिश जिसी ६ रनमा आउट भए पनि अन्तिम ओभरमा विराटनगरका लागि क्रिस सोलले उत्कृष्ट खेल देखाए।बलिङमा लुम्बिनीका दुर्गेश गुप्ताले ३ विकेट लिँदा सिमन्स र साद बिनले २/२ विकेट लिए।टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ७ विकेटको क्षतिमा १९१ रन जोड्यो।





