पर्सा ।आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचन तथा त्यसअघि पर्ने होली पर्वलाई लक्षित गर्दै पर्सा जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित अप्रिय घटना हुन नदिन सुरक्षा संयन्त्र उच्च सतर्कतामा राखिएको र चार तहको सुरक्षा घेरा परिचालन गरिने जानकारी दिइएको छ । तेस्रो सुरक्षा घेरामा नेपाली सेना परिचालन हुने बताइएको छ ।

श्री जंग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले पत्रकारहरूसँगको छलफलमा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा संयुक्त रूपमा चार तहका सुरक्षाकर्मी खटाइने जानकारी दिनुभयो । उहाँले पछिल्लो समय देखिएका गतिविधिलाई मध्यनजर गर्दै जोखिमयुक्त मतदान स्थलको पहिचान गरिएको छ र त्यस्ता स्थानलाई विशेष निगरानीमा राखिएको बताउनुभयो ।
चेकपोस्ट व्यवस्थापन सुदृढ पारिएको तथा सशस्त्र प्रहरी बल नेपालसँगको सहकार्यमा एकीकृत सुरक्षा योजना कार्यान्वयनको तयारी पूरा भएको बताउँदै आम नागरिकलाई सुरक्षित अनुभूति दिलाउँदै निर्धक्क रूपमा मताधिकार प्रयोग गर्ने वातावरण तयार पारिएको बताउनु भयो । 

प्रमुख सेनानी कार्कीले मतदान स्थलमा कुनै जोखिम नहोस् भन्ने हाम्रो प्राथमिकता रहेको र जोखिमको संकेत देखिएमा तत्काल शान्ति सुव्यवस्था कायम गर्न सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको जानकारी दिनु भयो । उहाँले मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानीको जिम्मेवारी पनि तीनै तहका सुरक्षाकर्मीले संयुक्त रूपमा वहन गर्ने र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको समन्वयमा सुरक्षा प्रदान गरिने बताउनुभयो ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी आफ्नो–आफ्नो घेरामा रहनेछन् भने नेपाली सेनाले तेस्रो घेरामा रहेर सुरक्षा व्यवस्था मजबुत बनाउने तथा आवश्यक परेमा तुरुन्त परिचालन हुन सक्ने मोबाइल क्वीक रियाक्सन टोली तयारी अवस्थामा राखिएको छ भने मोटरसाइकल गस्तीसमेत बढाइएको बताउनु भयो ।

यसैबीच, नजिकिँदै गरेको होली पर्वलाई सभ्य, मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन सुरक्षा निकायले सबैसँग आग्रह गरेको छ । होलीका नाममा उच्छृंखल गतिविधि हुन नदिन विशेष सतर्कता अपनाइएको जनाउँदै कानुन विपरीतका कार्यमा संलग्न जो कोही माथि कारबाही गरिने चेतावनी दिइएको छ ।निर्वाचन र पर्व दुवैलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन राजनीतिक दल, सरोकारवाला निकाय तथा आम नागरिकको सक्रिय सहयोग अपरिहार्य रहेको सुरक्षा निकायले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0