
पर्सा । छिनछिनमा विद्युत आउने जाने भैरहँदा उद्योग संचालनमा समस्या भएको भन्दै वीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योगीहरूले असन्तुष्टि पोखेका छन । नेपाल विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ गरिरहेको र बिनासूचना विद्युत कटौती गरेको भन्दै उनीहरू असन्तुष्ट भएका हुन । प्राधिकरणले लोडसेडिङमुक्त औद्योगिक क्षेत्र’ को नारा २०७५ मै ल्याएको भएपनि पछिल्लो समय बढ्दो विद्युत् कटौती, गुणस्तरीय विद्युत् आपूर्तिको अभाव लगायत कारण उद्योगका उपकरण र कच्चापदार्थ बिग्रिनुका साथै उत्पादन प्रक्रियामा समेत नकारात्मक असर परिरहेको उनीहरूको गुनासो छ ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम भन्नुहुन्छ – “औद्योगिक प्रतिष्ठानहरूको अक्सिजनकै रुपमा रहेको विद्युत, नियमित आपूर्ति नहुँदा उद्योगहरू सञ्चालनमा समस्या भएको बताएका छन । झण्डै ५–६ वर्षअघि नेपाल विद्युत प्राधिकरणले घोषणा गरेको लोडसेडिङमुक्त औद्योगिक क्षेत्र तथा उज्यालो नेपालको नाराबाट उत्साहित भएका उद्योगी, व्यवसायी तथा सर्वसाधारण नेपालीहरू हालका दिनहरूमा बढ्दो विद्युत कटौती, गुणस्तरीय विद्युत आपूर्तिको अभावको कारण उद्योगहरुको उपकरण र कच्चा पदार्थ बिग्रिनुका साथै उत्पादन प्रक्रियामा समेत नकारात्मक असर परिरहेको छ । ”
करिडोरमा रहेका औद्योगिक फिडरमा २४ घण्टामा १४-१५ पटकसम्म ट्रिपिङ भइरहेको उनीहरूले बताएका छन । औद्योगिक उपकरण बिग्रिनुका साथै कच्चा पदार्थहरू नोक्सान भइरहेकोले समस्याको समाधानका लागि लोडसेडिङको तालिका बनाई बाँकी समयमा गुणस्तरीय विद्युत आपूर्ति गर्नु पर्ने उनीहरूको माग छ ।
वीरगंज उद्योग वाणिज्य संघका कोषाध्यक्ष अनोज रुंगटा भन्नुहुन्छ – “पर्सा–बारा औद्योगिक करिडोरका उद्योगहरूले विभिन्न समस्याहरू खेपिरहेकै बखत विद्युत ट्रिपिङ भइरहेका कारण औद्योगिक उपकरण बिग्रिनुका साथै समस्या झेल्नु पर्दा उद्योगीहरू मर्कामा परेका छन । विद्युत कटौतीको बेला डिजी सेटबाट उद्योग संचालन गर्नु पर्दा उत्पादन लागत बढ्न गई उद्योगहरूले आफ्नो प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै गइरहेको र ससाना उद्योगहरूले विद्युत कटौतीको बेला डिजी संचालन गर्न सक्ने अवस्था नभएकोले उद्योग नै बन्द राख्नु पर्ने अवस्था छ । ”




