
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनलमा पाइला टेक्दा मेरो मन ढुकढुक भयो । एकै समयमा ममा मिश्रित भावना पैदा भयो– अलि नर्भस र उत्साहित ।
अघि बढ्दै जाँदा मेरो चिन्ता बढ्नु स्वाभाविक थियो किनकि म पहिलोपटक काठमाडौंबाट विराटनगरसम्म एक्लै यात्रा गर्दै थिएँ । शुरूमा बुवाले पास लिइदिनुभयो अनि हामी टर्मिनल भवनमा प्रवेश गर्यौं । उहाँले मलाई एयरपोर्टसम्म छाड्न जानुभएको थियो ।
बुद्ध एयरलाइन्सको काउन्टरतर्फ जाँदा मेरो मन झन् धड्किन थाल्यो र मैले गहिरो सास फेरें।एयरलाइन्सका एक कर्मचारीले मेरो बुवालाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने र त्यहाँ अभिभावकले नै रिसिभ गर्ने सुनिश्चितताका लागि फारम भर्न आग्रह गर्नुभयो ।बुवाले फारम भर्नुभयो । मेरो आमा मलाई लिन विराटनगर एयरपोर्टमा कुरिरहनुभएको थियो ।
त्यसपछि बुवाले उडानअघि पालना गर्नुपर्ने प्रक्रियाहरू र अन्य आवश्यक सल्लाह दिनुभयो । उहाँले मलाई थप सहायता गर्न कर्मचारीलाई आग्रह गर्नुभयो र टर्मिनल छाड्नुभयो ।म एक्लै प्लेनको यात्रा गरिरहेकी थिएँ, यो निश्चय नै खुसीको कुरा थियो ।
मैले सुनेकी थिएँ, बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले अहिले मैले पढ्ने स्कूलमा पढ्नुभएको थियो । त्यसकारण पनि एक्लै यात्रा गर्दा ममा आत्मविश्वास बढ्यो ।म पहिलोपटक एक्लै उडिरहेको थिएँ, त्यसैले मेरो यात्रा कस्तो हुनेछ भनेर थोरै चिन्तित पनि थिएँ । मेरा साथीहरूले छुट्टीको क्रममा बुद्ध एयरबाट यात्रा गरेर गन्तव्यमा पुगेका उडान अनुभवहरू सेयर गर्थे ।

त्यसले पनि मलाई थप आत्मविश्वास बढायो । एयरलाइन्सका एक कर्मचारीले मलाई मद्दत गर्नुभयो । उहाँले मलाई सुरक्षा जाँचतिर डोहोर्याउनुभयो र बोर्डिङ शुरू नभएसम्म पर्खनुपर्ने वेटिङ रूम देखाउनुभयो ।
त्यहाँ धेरै गन्तव्यमा जानुपर्ने यात्रुको भीड थियो । कतिपय फ्लाइटहरू डिले भएकाले होला त्यहाँ भीड बढ्दै गइरहेको थियो । म सबैलाई अवलोकन गर्दै बसेँ ।एक्लै बस्दा धेरै प्रश्नहरू मेरो मनमा आए । मानिसहरूले किन बसमा नगएर प्लेन रुचाउँछन् ? समय कसरी काट्ने होला ? मेरो फ्लाइट पनि डिले हुने हो कि ? यी सबै प्रश्नहरूको उत्तर मलाई थाहा थिएन ।
त्यसपछि मैले मेरो छेउमा बसेका केही मानिसहरूसँग कुरा गरें । उनीहरूलाई तपाईंले किन हवाई यात्रा रोज्नुभएको हो भनेर सोध्न थालें । उनीहरूले हवाई यात्रा रोज्नुको विभिन्न कारणहरू जान्न रमाइलो लाग्यो ।
कतिपयले हवाई यात्रा सुविधाजनक छ भने । अरू कतिपयले हवाई यात्राले समयको वचत गर्ने भएकाले यसलाई रोजेको जवाफ दिए । अरू एक दुई जनाले नयाँ अनुभव गर्न पहिलोपटक उड्न लागेको जवाफ दिए ।
प्रतीक्षाको घडी लामो थियो तर मैले वेटिङ रूममा बसेका सबै जनालाई मिलनसार र दयालु पाएँ । त्यसैले लामो समय पर्खनु परे पनि दिक्क भइनँ । मैले मेरो फ्लाइटको रमाइलो क्षणहरूबारे कल्पना गरें ।
त्यसपछि हाम्रो उडानको बोर्डिङ शुरू भएको घोषणा भयो । जहाजसम्म पुर्याउन एउटा बसले हामीलाई प्रतीक्षा गरिरहेको थियो ।
बसमा मेरो छेउमा एक सहयोगी महिला हुनुहुन्थ्यो । उहाँले मेरो बुवालाई फोन गरेर म जहाज चढ्न लागेको जानकारी दिनुभयो । बसले पनि हामीलाई छिट्टै जहाजसम्म लग्यो ।
म आफ्नो सिटमा गएर बसें । त्यसको केही क्षणमा जहाज टेक अफ भयो अनि मेरो जिज्ञासा र डर बढ्दै गयो ।एयर होस्टेसले मलाई विराटनगरमा पुग्न ३५ मिनेट लाग्ने बताउनुभयो ।
म अझै पनि यो लामो समय एक्लै आकाशमा उड्नुपर्दा के होला भन्ने सोचिरहेकी थिएँ । विमान उड्न थालेपछि मैले पहाड र तलको सुन्दर दृश्यहरू देखें । मैले राहतको सास फेरें र दृश्यको आनन्द लिएँ ।
मैले विराटनगरमा जुटमिल र धेरै अन्य चाखलाग्दो ठाउँहरूको बारेमा सुनेकी थिएँ । म जान लागेको नयाँ शहर विराटनगरमा मेरो अनुभव कस्तो होला भनेर उत्साहित भएँ । त्यहाँ नयाँ साथीहरू बनाउन पाउने आशा थियो ।
यात्रा मेरो लागि साहसिक बनिरहेको थियो । जब जहाजले आफ्नो उचाइ लियो, मलाई अलिअलि डर लाग्न थाल्यो । मैले रोलरकोस्टरमा बसेजस्तो अनुभव गरें, डर लाग्ने तर रमाइलो हुने ।
मैले सीटको खल्तीमा एउटा पत्रिका देखें । यात्रा नामको त्यो इनफ्लाइट पत्रिका जसमा पर्यटनसम्बन्धी विभिन्न कथाहरू थिए । मैले त्यही पत्रिकामा मेरो पहिलो र एक्लो फ्लाइटको अनुभव लेख्न प्रेरित भएँ ।
अन्ततः जहाज विराटनगर एयरपोर्टमा ल्यान्ड गर्यो । उडान परिचारकले मलाई हात समातेर ओर्लिन सहयोग गर्नुभयो । त्यसपछि मलाई सुरक्षित रूपमा मेरी आमासम्म पुर्याइदिनुभयो ।
म एक्लै प्लेनको यात्रा पूरा गरेकोमा खुशी थिएँ । अराइभलमा आमासँग भेट्दा मैले खुशीले अंगालो हालेँ । बुद्ध एयरका कर्मचारीले आमालाई पहिला बुवाले भर्नुभएको फर्ममा हस्ताक्षर गर्न अनुरोध गरे ।
म त्यो फ्लाइटको मेमोरीलाई सधैं जीवित राख्न चाहन्छु । बुद्ध एयर ! मलाई सुरक्षित महसुस गराउनुभएकोमा धन्यवाद !
(दाहाल बूढानिलकण्ठ स्कुलमा अध्ययनरत विद्यार्थी हुन)





