
काठमाडौँ । चुनाव नजिकिएसँगै उम्मेदवार र प्रचारमा खटिएका दलका नेताहरूको अहिले चर्चा छ । पार्टीको चुनावी अभियानमा लागेकाहरू व्यस्त देखिँदा कतिपय नेताहरू भने फुर्सदिला बनेका छन । निर्वाचनको मिति नजिकिँदै जाँदा टिकट नपाएका प्रमुख दलका प्रभावशाली कतिपय पदाधिकारी र पूर्वपदाधिकारी चुनाव परिचालनको औपचारिक जिम्मेवारीमा छैनन् । नेतृत्वसँग असन्तुष्टि, कानुनी विवादले उनीहरूमध्ये केही स्वतःस्फूर्त चुनावी अभियानमा छन भने केही मौन देखिएका छन ।
कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवासहित प्रमुख पार्टीबाट उम्मेदवार नरहेका करिब दुई दर्जन नेता चुनाव परिचालनको जिम्मेवारीबाटै वञ्चित छन । पार्टी नेतृत्वको बेवास्तामा परेर टिकट र ठोस जिम्मेवारी नपाएका उनीहरू सक्रिय छैनन् । निष्क्रिय बस्दा कार्यकर्ताले नै प्रश्न उठाउन सक्ने दबाबमा परेपछि कतिपय नेताहरू आ आफ्नो तरिकाले चुनावी प्रचारमा समेत देखिने गरेका छन । कांग्रेस विशेष महाधिवेशनबाट सभापति भएपछि गगन थापाले पूर्वसभापति देउवा र उनी निकट धेरै प्रभावशाली नेताहरूको टिकट रोकेका छन । अर्कोतर्फ एमालेमा अध्यक्ष केपी ओलीले पनि सुरेन्द्र पाण्डे, योगेश भट्टराई, छविलाल विश्वकर्मा र गोकुल बाँस्कोटाजस्ता नेतालाई टिकट र चुनावी जिम्मेवारीबाट रोकेका छन । नेकपा भित्र पनि उम्मेदवार नरहेका वरिष्ठ नेता झलनाथ खनालसहित केही शीर्ष तहका नेता चुनावसम्बन्धी परिभाषित जिम्मेवारीबाट वञ्चित नै छन । नेकपामा धेरै युवाले टिकट पाउँदा पाका नेताहरू किनारामा परेका छन ।
प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पूर्वसभापति शेरबहादुर देउवासहित प्रभावशाली नेता औपचारिक चुनावी कमान्डबाट बाहिर छन । सभापतिमा निर्वाचित भएपछि गगन थापाले देउवानिकट धेरै नेताहरूलाई टिकट नदिएपछि पार्टीभित्र असन्तुष्टि छ । कांग्रेसले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । शर्मा स्वयं उम्मेदवार नभए पनि चुनावी कमान्ड सम्हालेर देशव्यापी दौडधुपमा छन । तर, निवर्तमान सभापति देउवा, पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. शशांक कोइराला चुनावी अभियानमा देखिएका छैनन । यद्यपि, टिकट नपाएका पूर्वउपसभापति धनराज गुरुङ, बालकृष्ण खाण, दीपक खड्का र मोहन बस्नेतले आ आफ्नो क्षेत्रमा संगठनात्मक समन्वय र प्रचारप्रसार गरिरहेका देखिन्छ ।
एमालेमा टिकट नपाएका पदाधिकारीहरू औपचारिक जिम्मेवारीविना चुनावी अभियानमा छन । अध्यक्ष केपी ओलीसहित १९ सदस्यीय पदाधिकारीमध्ये ६ जना प्रत्यक्षतर्फ उम्मेदवार छैनन । १४ पदाधिकारी प्रत्यक्षतर्फ उम्मेदवार छन । पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र पूर्वउपमहासचिव प्रदीप ज्ञवाली पनि प्रत्यक्षतर्फका उम्मेदवार छन् । तर, पूर्व उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य उम्मेदवार छैनन । उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई तथा सचिवहरू खगराज अधिकारी, यमलाल कँडेल, छविलाल विश्वकर्मा र हिक्मत कार्कीमध्ये केही प्रदेश सरकार वा प्रदेश संगठनमा सक्रिय छन् भने केही स्वतःस्फूर्त प्रचारमा खटिएका छन । निर्वाचन नलडेका नेकपाका नेताहरू चुनावी अभियानमा होमिएका छन । वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतम, राजेन्द्र श्रेष्ठ, अग्नि सापकोटा, पम्फा भुसाल, बेदुराम भुसाल, प्रमेश हमाल, देव गुरुङ, जगन्नाथ खतिवडा, प्रकाश ज्वालालगायतका नेताहरू उम्मेदवार नबने पनि पार्टीलाई जिताउन अभियानमा होमिएका छन ।
यसपालि टिकट नपाएका ठूला दलका शिर्ष नेताहरू कतिपय चुनावी प्रचारमा उम्मेदवारसंगै असन्तुष्टि लुकाउँदै देखिएका छन भने कतिपय मौन देखिएका छन । पार्टीमा प्रभाव राख्ने नेताहरूको असन्तुष्टिले पनि निर्वाचन परिणाममा प्रभाव पार्न सक्छ । उनिहरुको असन्तुष्टि, मौनताले चुनवाी परिणाममा कस्तो प्रभाव पर्ला त्यो भने निर्वाचन परिणामपछि नै भन्न सकिने छ ।





