
काठमाडौँ । निजी क्षेत्रले सरकारले ल्याएको बजेटले आफूहरू उत्साहित भएको जनाएका छन् । उनीहरूले निजी क्षेत्रले दिएका सुझावहरूलाई समेटेर बजेट आएको भन्दै उत्साह देखिएको धारणा राखेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेटमा निजी क्षेत्रले दिएका मध्ये धेरै सुझाव समेटिएको बताउनुभयो । यसअघि बजेटमा रहेका विषयहरू कार्यान्वयन नहुँदा समस्या देखिएको भन्दै उहाँले अहिले सरकारले ल्याएको बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएका सुझावलाई कार्यान्वयन गर्दै जाने सरकारको प्रतिवद्धता सकारात्मक रहेको उहाँले बताउनुभयो ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रलाई समेटेर बजेट आएकाले सकारात्मक रहेको बताउनुभयो । सरकारले राखेको राजस्वको लक्ष्य समेत सम्भव रहेको उहाले बताउनुभयो । उहाँले बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके लक्ष्य अनुसारको आर्थिक वृद्धिदर हुन सक्ने धारणा राख्नुभयो ।
त्यस्तै अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले बजेटलाई मुस्कानका साथ स्वागत गरिएको बताउनुभयो । नाडाको मागलाई सरकारले अर्थपूर्ण रूपले समेटेको उहाँले बताउनुभयो ।अन्य व्यवसायीहरूले अव सरकारले बजेटको कार्यान्वयनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कुल बिनियोजन मध्ये चालू तर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६० दशमलव १ प्रतिशत र पुँजीगत तर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २० दशमलव ८ प्रतिशत रहेको छ । त्यस्तै वित्तीय व्यवस्था तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ अर्थात १९ दशमलव १ प्रतिशत रहेको छ । प्रदेश र स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।
बजेटको खर्च व्यहोर्ने स्रोतमा राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड संकलन गर्ने लक्ष्य राखिएको छ । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड परिचालन गरिने र बाँकी आन्तरिक ऋणबाट व्यहोर्ने अर्थमन्त्री विष्णु पौडेलले बताउनुभयो ।




