
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रयमाससम्मको कार्यान्वयन स्थिति, आन्तरिक तथा बाहृय आर्थिक एवं वित्तीय अवस्था तथा समष्टिगत आर्थिक परिदृश्यका आधारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरिएको जनाएको छ ।
राष्ट्र बैंकले गत साउनमा सार्वजनिक मौद्रिक नीतिका कार्यदिशालाई नै निरन्तरता दिएको जनाएको छ । विद्यमान अवस्था एवम् परिदृश्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको छ, समीक्षा प्रतिवेदनमा भनिएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशतमै यथावत राखिएको समेत जनाएको छ । त्यस्तै ब्याजदर करिडोरअन्तर्गतको तल्लोसीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३।०० प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६।५ प्रतिशतमा यथावत राखेको छ ।
त्यसैगरी राष्ट्र बैंकले विप्रेषण आप्रवाहमा भएको वृद्धिलगायतका कारण २०८१ असोजमा कायम विदेशी विनिमय सञ्चितिले १४।६ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने अवस्था जनाएको छ ।




