म एउटा यस्तो विद्यालयमा अध्ययन गर्छु, जहाँ हामीलाई बिहानदेखि बेलुकासम्मै, हरेक दिन विद्यालयमै बस्नुपर्छ। विद्यालयको यो आवासीय प्रणालीले सबै विद्यार्थीहरूलाई अनुशासित र आत्मनिर्भर बनाउँछ। विद्यालयमा पढ्ने सबैले होस्टेलमा बस्नैपर्छ। होस्टेल विभिन्न ब्लकहरूमा विभाजित छ, जसलाई हामी हाउस भन्छौँ। यस्ता हाउसहरू राख्नुको उद्देश्य विद्यार्थीलाई घरजस्तै वातावरण प्रदान गर्नु हो।

विद्यालयको दैनिक जीवन शारीरिक र मानसिक विकासमा केन्द्रित छ। खेलकुद, अध्ययन, सिर्जनात्मक गतिविधि र सामूहिक जीवनशैलीले हामीलाई धेरै कुरा सिकाउँछ। विद्यालयको वार्षिक पात्रो अनुसार मात्र हामीलाई महिनामा एक वा दुई पटक घर जान अनुमति दिइन्छ। यस्ता छुट्टीलाइ लिभ विकएन्ड भनिन्छ।

लामो बिदामा म विभिन्न ठाउँ घुम्न जान्छु, कहिलेकाहीं आफन्तका घर, कहिलेकाहीं बाबुआमाको कार्यालयसम्म। यस्ता यात्रामा धेरै मानिसहरूसँग भेटघाट हुन्छ। केही पहिल्यै चिनिएका हुन्छन् भने केही नयाँ। नयाँ मानिसहरूले जब मेरो नाम सोध्छन्, म मेरो पहिलो नाम मात्र बताउँछु। त्यसपछि उनीहरू थर पनि सोध्न थाल्छन्। म अलिक असहज महसुस गर्छु, किनभने म अहिले आफ्नो थर भन्न बिर्सिसकेको छु।

यस्तै एक दिन, म एक आफन्तको घरमा गएको थिएँ। त्यहाँ नयाँ मानिसहरूले मेरो नाम सोधेपछि मैले पहिलो नाम मात्र भने। चिनिएका आफन्तहरूले तुरुन्तै सोधे, थर ? उनीहरूलाई लागेछ कि मैले नाम अधुरो भनेँ। मैले शान्त स्वरमा बुझाएँ – हाम्रो विद्यालयमा थर प्रयोग गर्न पाइँदैन। अहिले बाहिर पनि त्यो बानी नै भैसक्यो । पछि उनीहरूले बुझ्नुभयो, यो मेरो नियतको विषय होइन, विद्यालयको संस्कार र मेरो बानीकै कारण हो।

हाम्रो विद्यालय सानो नेपाल जस्तै हो। यहाँ देशका सबैजसो भूगोलबाट विद्यार्थीहरू छनोट गरेर ल्याइन्छन्। विद्यालयमा थर प्रयोग गर्न हुँदैन । नामको अगाडि रोलनम्बर प्रयोग गरिन्छ । रोल नम्बरबाटै हामी एक अर्कालाई चिन्छौ ।  यस्तो गर्नुका पछाडिको कारण हो  सबैलाई समान व्यवहार मिलोस्।  थर प्रयोग नगर्ने यो परम्परा अझै पनि जीवित छ – समानताको प्रतीकका रूपमा।

बाहिरी प्रतियोगिता वा कार्यक्रमहरूमा भने थर अनिवार्य हुन सक्छ। यस्तो अवस्थामा कतिपय विद्यार्थीहरू हिचकिचाउँछन्, किनभने उनीहरू रोल नम्बर र पहिलो नाममै अभ्यस्त हुन्छन्। बाहिरको परिवेशमा समायोजन गर्न समय लाग्छ। विद्यालयमै शिक्षकहरूलाई पनि इनिशियल बाट चिनिन्छ, जसले सबैमा समानताको भावना पैदा गर्छ।

विद्यालयमा भर्ना हुनुअघि म पनि थर प्रयोग गर्थें। त्यतिबेला मानिसहरूले सोध्थे—“तिम्रो आमाको थर बाबाको भन्दा किन फरक ? ” अहिले, जब म थर भन्दिनँ, उनीहरू भन्छन्—“तिम्रो थर के हो ?” मलाई लाग्छ—थरमा यति धेरै महत्व किन दिइन्छ ?  थर कहिले कसरी राखियो भन्नेबारे पनि मलाई ज्ञान छैन। तर म अहिले आफ्नो नाम मात्र भन्नमै सहज छु।
हाम्रो विद्यालयले दिएको एउटा ठूलो शिक्षा यही हो—पहिचान थरले होइन, आचरण र कार्यले दिन्छ । 

(दाहाल बूढानिलकण्ठ स्कुलमा अध्ययनरत विद्यार्थी हुन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0