छोरा छोरीले स्नातकोत्तर सकाइ सके । उनीहरू आफ्नै संसारमा व्यस्त छन । जागिर गर्छन, पढाइलाई अझै अघि बढाएका छन । घरमा खाली समय धेरै हुन्थ्यो, मनमा अनेक कुरा खेलिरहन्थ्यो । तर एक प्रश्न बारम्बार आइरहन्थ्यो “म आफैँले पढ्न सक्दिनँ ?”


पढ्ने रहर त सानैदेखि थियो, तर परिस्थितिले सधैं पछि पारो, घरको जिम्मेवारी, परिवारको जिम्मेवारी, समाजको दृष्टि । उमेर ढल्किँदै गयो, सपना भने ओझेलमा पारिरह्यो । तर जब छोराछोरीले क्याम्पसको गाउन लगाएर फोटो पठाए, मभित्र केही त जाग्यो । म भने किन नपढ्ने ? उमेरले होइन, इच्छाशक्तिले नै मान्छेलाई अघि बढाउँछ भन्ने लाग्यो । र, म एसईईको परीक्षा दिन तयार भएँ ।  पुस्तकका पानाहरू फेरि पल्टाएँ, अक्षरहरू बुझ्न थालेँ । कहिलेकाहीँ गाह्रो लाग्थ्यो, आँखा थाक्थे, तर मन कहिल्यै थाकेन । आज म एसईई परीक्षा पास भए । अङ्कभन्दा ठूलो कुरा मेरो आत्मविश्वास हो भन्ने लागिरहेको छ ।


पढाइले मलाई फेरि आफैसँग चिनायो । मलाई लाग्छ, पढाइ कुनै उमेरको कुरा होइन, यो त आत्मसम्मान, आत्म बिकास र आत्मविश्वासको कुरा हो ।
कृषक परिवारकी जेठी छोरी, म । त्यो समय जब छोरीलाई पढाउनु हुँदैन भन्ने सोच गहिरोसँग समाजमा थियो । तर मेरो हृदयमा भने खटक खटक पढ्ने रहरको खड्किएको थियो अनगिन्ती प्रश्न र अनुत्तरित इच्छाले म भित्र आँधी ल्याइरहेको थियो ।


म सानै थिएँ, जब मैले कालीका प्राथमिक विद्यालयबाट कक्षा ५ पास गरेँ । त्यतिबेला म १२ वर्षकी थिएँ । त्यो उपलब्धि त्यति सामान्य थिएन । छोरीलाई पढाउन हुन्न भने समाजमा ५ कक्षा पास भए पछि अर्को स्कुल जानु पर्ने थियो । स्कुल पुग्न घरबाट दुई घण्टा पैदल हिँड्नुपर्थ्यो ।  जनकल्याण मावि पुग्नुपर्ने बाटो बीच घना जङ्गल पार गर्नुपर्ने हुन्थ्यो, जुन बाटोमा खासै केटीहरू देखिँदैनथे। म गाउँका दाजुभाइ सँगै स्कुल जान्थेँ। तर गाउँलेहरू भन्थे अब कुनदिन जान्छे । ती शब्दहरू मेरा आमाको कानमा बिझ्थे। बुबा भने फरक सोच राख्नुहुन्थ्यो । क्रान्तिकारी विचारधारा भएका व्यक्ति, जसले भन्नुहुन्थ्यो, “चारै छोरी पढ्नै पर्छ ।


आमालाई भने समाजका छोरी प्रति बनाएको धारणाले निकै पोल्थ्यो । लामो बाटो, साँझको अँध्यारो र दिनभरको को पढाई एक दिन आमाले भन्नु भयो अब अक्षर चिनिहाल्यो, अब नजाऊ स्कुल । तर म चुप लागिनँ । कसैको कुरा नसुनी परिवार एकातिर र मेरो आत्माको आवाज अर्कोतिर । त्यो आत्माले भनिरहन्थ्यो— पढ, अगाडि बढ  । गाउँमा कसैलाई विदेशबाट चिठी आउँदा पढ्ने मान्छे म नै थिएँ । भाउजुहरू चिठी लेखिदिनु भन्थे । त्यो बेलामा मलाई थाहा थिएन पढेर के हुन्छ भन्ने । तर जागिर खान्छु, बहिनीहरूलाई पनि पढाउँछु भन्ने लक्ष्य थियो मेरो । तर समाज यत्तिले रोकिँदैनथ्यो । चार छोरी मात्रै, छोरा छैन ? भन्ने तिखा टिप्पणीहरूले बुबाको कान जल्थ्यो । बल्लतल्ल भाइ जन्मिएपछि हाम्रो घरमा तिहार आयो । त्यो बेलाको एउटा सम्झनाले आजपनि मुटु हल्लाउँछ।

स्कुल जानको बाटोमा ठूलो खोलापार गर्नु पर्ने हुन्थ्यो एक दिन पानी अत्यधिक बढेको थियो। खोला तर्दैगर्दा म झन्डै बगिन किताब चाहिँ बग्यो। त्यो दिन म धेरै रोएँ।भोलिपल्ट स्कुलमा सबैलाई थाहा भयो। साथीहरूले पुराना किताब ल्याइदिए । त्यो साथ, त्यो मायाले मलाई फेरि उठायो।


तर संघर्ष यहाँ टुंगिएन । १७ वर्षमा मेरो विवाह भयो । बुबाआमाको निर्णयको विरोधमा म जान सकिन । विवाहपछि पढाइ रोकियो ।  श्रीमान विदेश, सासू–ससुरा को साथ र सहयोगी भएन, समाज कटाक्षपूर्ण ।  सरहरू आउँथे—“पढ् नानी, अहिले नपढिस भने पछुतो हुन्छ । भन्ने शब्द आजपनि मानसपटलमा घन्किन्छन् ।
बैबाहिक जिवन पनि अहिलेको जस्तो सहज कहाँ थियो र । दाइजो नल्याउने वुहारीले के के सुन्नु पथ्र्यो सहनु पथ्र्यो । समय अहिले परिवर्तन भएको छ । सहज भएको छ । यहि फेरिएको समयले सायद मलाई एसईईको त्यो ढोका पार गर्नसक्ने बनायो सायद ।


बीबाहको २ बर्ष पछि छोरी जन्मिइन् । छोरी जन्मिएपछि माइतीको साथ पाएको थिएँ । त्यसले मलाई बलियो बनायो । तीन वर्षपछि छोराको जन्म भयो ।
मेरो सपना सन्तान, चुलोचौका र समाजको चक्रव्यूहमा हराएको थियो। तर मैले आफुले गुमाएको पढाइ सन्तानमा पूरा गराएँ ।  छोरीलाई पत्रकारितामा स्नातकोत्तर गराएँ, छोरालाई आईटि इञ्जिनियरिङ । एक दिन मैले छोरा छोरी लाई भने  अब म पढ्न चाहन्छु । सन्तानको आँखामा गर्वको चमक थियो। छोरीले विद्यालय खोजेर मलाई भर्ना गरिदिइन सरस्वती वैकल्पिक विद्यालय, बनस्थली । तीन दशकपछि म फेरि विद्यालय गए । आँखा कमजोर, पाठ्यक्रम अप्ठेरो । तर आत्मबल बलियो थियो । सामाजिक शिक्षा सजिलो लाग्थ्यो, तर गणित र अंग्रेजी त एकदमै गाह्रो । पहिलोपटक सामाजिक बाहेक सबै विषयमा फेल भएँ । छिमेकी भन्थे—“बुढेशकालमा पढेर के गर्ने? न लोक सेवा लड्न गइन्छ, न जागिर खान। ज्यान जत्रो झोलाबोकी हिँड्नुपर्ने ।


तर म हाँस्थे । उनीहरूका शब्दहरू अब मेरो साहसको अगाडि कमजोर थिए ।
दोस्रोपटक परीक्षामा गणित र अंग्रेजीबाहेक सबै पास गरेँ ।  बीचमा डेंगु भयो, रक्तचाप बढ्यो—शरीर कमजोर भयो । छोरीले भनिन –“मम्मी, तपाईले स्वास्थ्यख्याल राख्नुपर्छ।

कयौं रात म पनि सुतिनँ, छोरीले पनि सुतिनन् । कहिले विद्यालय लैजान, कहिले ल्याउन सबै जिम्मा छोरीकै । विद्यालयमा मेरा साथीहरु १५–१७ वर्षका बाबु–नानीहरू थिए। उनीहरूले मलाई “आमा”भन्थे। म पनिउनीहरूसँगै पढ्थेँ, बच्चा झैँ।


हिसाब पढाउने महेश सर, अंग्रेजीमा सहयोग गर्ने विनय सर, सानो मा पढनु पर्छ भनेर प्रेरणा दिने मेरो लम्जुङको लेखनाथ सर सबैको मायाले, समयले, विश्वासले त्यहाँ आइपुगेँ ।  छोरा छोरीले त स्कुलको शुल्क सम्म थाहा हुन दिएनन् । “मम्मी, तपाईको पालो सकियो, अब हाम्रो पालो ।” भन्दा मेरो आँखा रसाएर रोकिएन । आज मेरो घरमा किताब, नोटबुक र कलमहरूको थुप्रो छ । पढ्ने ठाउँ, लेख्ने रहर, अनि जीवनमा पहिलोपल्ट खुलेको ढोका ।


मैले अहिले ५१ वर्षको उमेरमा एसईई पास गरेकी छु । ३ दशमलव ४३ जीपीए ल्याएर । यो मेरो लागि प्रमाण हो सपना कहिल्यै मर्दैन भन्ने । समय लाग्छ, आँट लाग्छ, पीडा सहनुपर्छ, तर अन्ततः सपना पूरा हुन्छ।
अब मेरो अर्को सपना छ, क्याम्पस जाने । र पढिरहने । जीवनको अन्तिम श्वास सम्म पनि, पढाइसँगै अघि बढ्ने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
3
+1
1
+1
0