रमाइलो भन्नासाथ तपाईको मनमा के आउँछ ? साथीहरूसँग गफिँदै हास्नु ? परिवारसँग घुम्न जानु ? कुनै रमाइलो गीतमा नाच्नु ? अधिकांश मानिसका लागि रमाइलोको परिभाषा यस्तै होला । तर कहिलेकाहीँ रमाइलो त्यहाँ पनि भेटिन्छ, जहाँ हामीले कहिल्यै अपेक्षा गरेका हुँदैनौँ, जस्तै, डाक्टरकहाँ बिरामी भएर जानु ।
सुन्दा अनौठो लाग्न सक्छ — बिरामी भएर अस्पताल जाँदा कसरी रमाइलो हुन्छ ? लाज, पीडा, र बेचैनीसँगै लस्करै पालो कुरेर बस्नु, परीक्षणहरू, औषधिहरू… यी सबै कुराले त झन तनाव थप्छन ।
तर मेरो पछिल्लो अनुभवले मलाई जीवनको अर्को पाटो देखायो । बिरामी भए पनि रमाइलो महसुस गर्न सकिन्छ, यदि हामी त्यसको सकारात्मक पक्ष देख्न सक्ने आँखा राख्छौँ भने ।
म हाल बुढानीलकण्ठ स्कुलमा पढ्दै छु र होस्टलमा बस्छु । होस्टल बसाइ आफैंमा एउटा छुट्टै संसार हो । अनुशासन, नियम, कडाइ, र साथीसँगको आत्मीयता । त्यही संसारमा पनि म अलिक अस्वस्थ भएँ । स्कुलको क्लिनिकमा गएँ, जहाँको स्टाफले मलाई बाहिरी अस्पतालमा परीक्षण गर्न सिफारिस गर्नुभयो ।
हाउस हेडले मलाई छुट्टी दिएपछि म घर आएँ, र भोलिपल्ट हामी नजिकैको अस्पतालतर्फ लाग्यौँ । अन्तराष्ट्रिय स्तरको अस्पताल भनेपनि, पालो पर्खनुपर्ने, अस्पतालमा आउने विरामीको चाप आदिले पर्खनु सहज थिएन । अस्पताल पुगेर डाक्टरको चेम्बरमा पर्खिरहेको थिएँ। भित्र पस्दा डाक्टरले मलाई सामान्य प्रश्नहरू सोध्नुभयो — ‘के तिमीले जंक फूड खाएको छौ ?’
मैले मुस्कुराउँदै भनेँ — “डाक्टरसाब, हामी होस्टलमा बस्छौँ, जहाँ जंक फूड खान पाइँदैन । हामी त स्कुलमा आफैँ उब्जाइएको अग्र्यानिक तरकारी खान्छौँ ।”
डाक्टर छक्क पर्नुभयो । ‘कुन स्कुल हो यस्तो राम्रो खानेकुरा दिने ?’
“बुढानीलकण्ठ स्कुल,” मैले भनें ।
डाक्टर एक्कासी उत्सुक देखिनु भयो ।
“अरे ! म पनि त्यही स्कुलमा पढेको हुँ ।”
बस ! त्यो पलबाट हाम्रो कुरा साथीको शैलीमा हुन थाल्यो । मैले उहाँलाई सोधें — “तपाईंलाई होस्टल बस्दा चिन्ता लाग्थ्यो ?”
उहाँले केही भन्न नपाउँदै मलाई अल्ट्रासाउन्डको लागि लैजाने भनियो । म हल्का निराश भएँ, तर डाक्टरको अनुहारमा मेरो स्कुलको यादले ल्याएको मुस्कान देखेर उत्साहित थिएँ ।

पछि बुबा पनि अस्पताल आइपुग्नुभयो । डाक्टर र उहाँबीच पनि चिनजान रहेछ । मलाई झनै रमाइलो लाग्यो । अस्पतालको गन्ध, मशीनहरूको आवाज, र औषधीको सोच भन्दा पर गएर, म त्यो क्षणमा स्कूल, साथी, र डाक्टरको बाल्यकाल सम्झँदै थिएँ ।
जब डाक्टरले आफ्नो होस्टल जीवनका अनुभवहरू सुनाउन थाल्नुभयो, म स्तब्ध भएँ । उहाँको जीवन कथा सुन्दा म आफ्नै चिन्ताबाट मुक्त भएँ । उहाँले भन्नुभयो — “होस्टलको जिवन अलिक गाह्रो लाग्छ सुरुमा, तर त्यसले जीवनभर टिक्ने आत्मबल, सामाजिक क्षमता र नेतृत्व गुण दिन्छ ।” स्कूलबाट भाग्न खोजेको रमाइलो कथा पनि सुनाउनु भयो उहाँले । सारै चाख मानेर सुने मैले
त्यसपछि उहाँले मलाई सूर्य नमस्कार गर्न सल्लाह दिनुभयो — “प्रत्येक बिहान उठेपछि केही मिनेट सूर्यमुखी भएर प्राणायाम गर । तनाव घट्छ, आत्मविश्वास बढ्छ ।”
मेरो रिपोर्टहरू सबै सामान्य आए । तर त्यो दिन मैले औषधि होइन, संवादबाट निको भएको महसुस गरेँ । मलाई लाग्यो — कहिलेकाहीँ उपचार शारीरिक मात्र होइन, भावनात्मक रूपमा पनि चाहिने कुरा रहेछ ।
अस्पतालबाट फर्कदा म अस्पतालको भेटभन्दा पनि, डाक्टरसँगको सम्बन्ध, उहाँको कथाहरू, र मैले पाएको प्रेरणाले भरिएको थिएँ । मैले आफैसंग प्रतिवद्धता गरें — अबदेखि हरेक दिन ध्यान गर्नेछु, सूर्य नमस्कार गर्नेछु, र आफूभित्रको डरलाई मित्र बनाउने प्रयास गर्नेछु ।
स्कुल भनेको केवल किताब पढ्ने ठाउँ मात्र होइन । त्यो त जिन्दगीको तयारी गर्ने सिङ्गो कार्यशाला हो । जहाँ हामी सिक्छौँ, दुःखलाई कसरी पचाउने, एक्लोपनलाई कसरी बुझ्ने, र हरेक परिस्थितिमा रमाइलोको किरण खोज्ने कला ।
त्यसैले अहिले मलाइ लाग्छ, “बिरामी हुँदा पनि, सही दृष्टिकोणले हेर्न सके रमाइलो सम्भव रहेछ ।”
(दाहाल बुढानिलकण्ठ स्कूलमा अध्ययनरत विद्यार्थी हुन ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
32
+1
0
+1
0