
केहीदिन अघि म पोखरा गएको थिएँ । एक्लै । शुक्रबार अफिसको काम सकेपछि क्यान्टिनमा चियापिउँदै गर्दा निकै बोर लाग्यो । बोर लागेपछि योजना नबनाई हिँड्ने बानी मेरो पुरानै हो । त्यहीभएर शनिबार दिउँसो २ बजे मेरो यात्रा सुरु भयो पोखराको ।
काठमाडौँ पोखरा सडकको अवस्था मिश्रित छ । कुनै ठाउँ कालीगण्डकी जस्तै चिटिक्क, त कतै खाल्टाखुल्टीले भरिएको । ६ घण्टामा पुगिने भनिएको यात्रा रातिको ९ बजे मात्र सकियो । होटल अघिनै बुकिङ गरेको थिएँ। त्यस रात सुत्नु नै प्रमुख काम भयो। तर त्यो रात, शायद पहिलो पटक, मलाई एक्लो र आत्मनिर्भर महसुस भयो। लाग्यो, आज त म मेरो मर्जीको मालिक न त कसैको ५ डब्लु १ एचको प्रश्न न त उत्तर नै ।
भोलिपल्ट बिहान जब म फेवातालतिर निस्किएँ, मेरो मन फुरुङ्ग भयो। एकैचोटी हाँसोको फोहोरा छुट्यो। कोठा नजिकै बस्नेहरूले मलाई एक्लै हाँसेको देखेर पागल त हैनन् ?’ भन्ने सोचे कि ? तर म निस्फिक्री भएर फेवाताललाई हेर्दै हाँसिरहे । ब्रेकफास्ट खाँदै गर्दा मेरो मनमा एउटा कथा लेख्ने योजना आयो एक महिलाको कथा। उक्त पात्रसँग म सोमबार भेट गर्ने निर्णय गरें। तर त्यसअघि म पोखरा एक्लै घुम्न थालेँ। होटलका साहुजीले सोध्नुभयो, “म्याम, एक्लै आउनु भएको कामले कि घुम्न?” मैले भनेँ, “घुम्न मात्रै।” फेरि प्रश्न आयो, “एक्लै ?” मैले पनि हाँस्दै भनेँ, “एक्लै घुम्न हुन्न र?” हामी दुवै हाँस्यौँ। त्यसपछि म थकाली खाना खान गएको थिएँ। वेटर बहिनीले अर्डर लिन आउँदा फेरि उही प्रश्नः “म्याम, एक्लै?” म फेरि हाँसै। “अ एक्लै।”

खाना खाएको केही समयमा मेरो कथाको पात्रको फोन आयो। अफिसमा बोलाइन्। हामीबीच गफगाफ भयो। उनले भनिन्, “३३ वर्ष भइसक्यो, तर मलाई त घरले एक्लै हिँड्न नै दिँदैन। तपाई त एक्लै मज्जाले हिँडनु हुन्छ है मैले एक्लै घुम्दा मलाई निकै रमाइलो लाग्ने भन्दै कुरा सुनाए मंगलबार मैले पोखराका चिनजानका साथीहरूसँग भेटे। उनीहरूले पनि भने, “तिमी एक्लै एक्लै पनि घुम्न मन पराउँछ्यौ है? मैले भनेँ, हो, म त एक्लै हुँदा थुप्रै योजना बनाउँछ फिल्म हेर्न, नाटक हेर्न, घुम्न । म एक्लै जान्छु, रमाउँछु ।तर एउटा कुराले मलाई अचम्ममा पा-यो एक्लै भन्ने शब्दले कति ठाउँमा यति धेरै अड्को लायो कि मलाई लाग्यो, म यात्रामा छैन, सोधपुछको कठघरामा छु ।
त्यही मंगलबार म हाईकिङ जाने निधो गरें। फेवाताल पारि स्तुपा जानको लागि डुङ्गा चढ्नुपथ्र्यो। टिकट काट्दा फेरी सोधियोः हजुर एक्लै की अरु पनि हुनुहुन्छ? अब चाहिँ मलाई हाँसो आएन । डुङ्गामा चढ्दा चालकले पनि सोधेः हजुर एक्लै हुनुहुन्छ? रिस उठ्न थाल्यो। हो दाइ, म एक्लै, भनें। उनले फेरि सोधेः पारिबाट कहिले फर्कनुहुन्छ?थाहा छैन, भनेर टारें। उनले फेरि प्रश्न थपेः पोखराकै हो? होइन,भनें। अनि फेरिः एक्लै हाईकिङ?जंगल पो छ त, डर लाग्दैन?अब भने म यो प्रस्न खासै ध्यानदिन छोडेको थिए ।
हाईकिङ सुरु गरें। हरियाली, चिसो हावा, चराचुरुंगीको आवाज, बीचबीचमा देखिने पोखराको सुन्दरता एक किसिमको ध्यानमग्न यात्रा भयो त्यो। कतै चिटिक्क परेको सिँढी त कतै अप्ठेरो बाटो, जिन्दगी जस्तै। आत्म संवाद गर्दै हिँडिरहेँ प्रश्न पनि आफैं, उत्तर पनि आफैं।
हाईकिङ सकेर फर्किँदा थकाइ र आनन्द दुवै थियो। साँझ फेरि लेकसाइडको एक लाइभम्युजिक स्थलमा गएँ। तर त्यहाँपनि वेटरले उहीप्रश्न गरेः म्याम, एक्लै हो कि अरु पनि आउँदै हुनुहुन्छ?मैले थाकेको स्वरमा भने, म एक्लै हो। उ मुसुक्कहाँस्यो, मैले झर्किएर भनेँ, यहाँ कोही पनि एक्लै आउँदैन हो?उसले नरम भएर माफी माग्यो।
त्यो रात डिनर सकेर होटल फर्किएँ। भोलिपल्ट बिहान काठमाडौ फर्कनु थियो। काठमाडौँसम्मको यात्रापनि बस देखि घरसम्म। अनि अब यो ब्लग लेख्दै गर्दा पनि म्याम एक्लै भन्ने प्रश्नहरू अझै मनस्पटलमै छन्।तर एक्लो हुनु भनेको कमजोर हुनु हैन। एक्लै यात्रा गर्नु भनेको साहसी हुनु हो। किनकि एक्लो यात्रामा तपाई आफैंसँग भेट्नुहुन्छ सबैभन्दा महत्वपूर्ण भेट त्यही हो।





