रसुवा ।  लाङटाङ हाफ म्याराथनको उपाधि पुरुषतर्फ  मिलन कुलुङ र महिलातर्फ सुनसरी रोकायाले जितेका छन । रसुवा नुवाकोट पर्यटन समाज र बागमती प्रदेश सरकार अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा लाङटाङ हिमालयन क्षेत्रमा आयोजित ३२ किलोमिटर साहसिक म्याराथन प्रतियोगिता भएको हो । 

शनिबार बिहान सुरु भएको प्रतियोगिता लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने गोसाइकुण्ड गाउँपालिका ५ स्थित क्यान्जिङ गुम्बा क्षेत्रबाट शुरु भएको थियो। प्रतियोगितामा पुरुषतर्फ पहिलो हुने  मिलन कुलुङले  नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । 

पुरुषतर्फको  विशाल राई दोस्रो, अर्जुन कुलुङ राई तेस्रो, कृष्ण सिंह बोगटी चौथो तथा गोपाल तामाङ पाँचौँ स्थानमा रहे। महिलातर्फ सुनसरी रोकायाले उपाधि जितिन । यस्तै लाक्पा निमा शेर्पा दोस्रो, निर्मला राई तेस्रो, आङ पूर्वा शेर्पा चौथो र प्रिया राई पाँचौँ स्थानमा रहे । 

प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोस्रोले पचहत्तर हजार, तेस्रोले पचास हजार, चौथोले पच्चीस हजार र पाँचौँ हुनेले पन्ध्र हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगितामा  ६७  धावकहरूले प्रतिस्पर्धा गरेका थिए ।  

लाङटाङ क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको रसुवा नुवाकोट पर्यटन समाजले जनाएको छ । 

प्रतियोगिता अवधिभर प्रतियोगिता तथा त्यहाँको पर्यटनको वस्तुस्थितिका विषयमा लुम्बिनी पर्यटन सञ्चार प्रतिष्ठानले समाचार संयोजन गरेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0