दाङ । दाङमा जारी लुम्बिनी प्रदेश स्तरीय टी २० क्रिकेट प्रतियोगिता को उपाधिका लागि दाङ र रूपन्देहीको प्रतिस्पर्धा हुने भएको छ । 

लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजना तथा दाङ जिल्ला क्रिकेट सङ्घको प्राविधिक सहयोग एवम् व्यवस्थापनमा दाङमा जारी प्रतियोगिता अन्तरगत बुधबार सेमिफाइनलका खेल सकिएसँगै फाइनल खेल्ने दुई टोलीको टुङ्गो लागेको हो । सेमिफाइनलका खेल अन्तरगत घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रङ्गशालामा भएको खेलमा कपिलवस्तुलाई ६ विकेटले हराउँदै दाङले फाइनल यात्रा तय गरेको छ ।

कपिलवस्तुले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको दाङले उक्त लक्ष्य १७ दशमलव ५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै फाइनलमा पुगेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कपिलवस्तुले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो ।

यसैगरी, बुधबार भएको अर्को सेमिफाइनलमा बर्दियालाई ७ विकेटले हराउँदै रूपन्देही फाइनल प्रवेश गरेको छ । लमही –५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा बर्दियालाई ७ विकेटले हराउँदै रूपन्देहीले फाइनल यात्रा तय गरेको हो । बर्दियाले दिएको ७७ रनको सामान्य लक्ष्य पछ्याएको रूपन्देहीले उक्त लक्ष्य ९ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै फाइनलमा पुगेको हो ।

फाइनल खेल  बिहीबार हुने  छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0