एलिजा कुताल
यात्रा कुनै गन्तव्यमा पुग्नको लागि गरिएको शारीरिक, मानसिक वा आध्यात्मिक यात्रा वा यात्रा प्रक्रिया भएपनि, यो शब्द केवल गन्तव्यमा पुग्ने कार्य मात्र होइन, त्यो मार्ग यात्रामा हुने अनुभव, सिकाइ, परिवर्तन र आत्मबोधको प्रतीक पनि हो सायद । पश्चिम क्षेत्रमा जन्मिएकी मेरा लागि पूर्वी पहाडाको यात्राको योजना नै मेरा लागि रोमाञ्चक थियो नै, त्यसमाथि बाहिरको संसार हेर्ने बहानामा आफैलाई वुझ्नु पनि थियो


काठमाडौँबाट सुरु मेरो यात्रामा नयाँ बसपार्कबाट ताप्लेजुङका लागि छुटेको बसले गति मात्र लिएको  थिएन, जीवनका अनेकौँ भावनात्मक उतारचढाव बसको गति सँगसँगै ल्याएको थियो । भक्तपुरबाट यात्रामा थपिएकी सहयात्री र उनको सानी छोरी उनीहरूसँगको संवादले यात्रा थप रमाइलो बनेको थियो ।
बीपी राजमार्ग हुँदै रोसी खोलाको बगर हेर्दा मन भक्कानियो । बाढीपहिरोले उजाड बनाएको भूभाग देख्दा राज्यको पूर्वाधार योजनामाथि गम्भीर प्रश्न उठ्यो । यो बाटोले हामीलाई देशको वास्तविकता सम्झायो । रातको बस यात्रागर्दा बिहान इलाम पुग्यौँ ।  इलाम पछि पाँचथर हुँदै अगाडि बढ्दा रमणीय पहाडी दृश्यले मन लोभ्यायो। उकालो ओरालोको घुम्ती बाटोले कहिले रोमाञ्च, कहिले डर पनि लाग्यो । 

ताप्लेजुङको फुङलिङ बजार पुगेर स्कर्पियो भाडामा लिएर हामी लाग्यौ सानो फेदी यहाँबाट २ घण्टाको पैदल यात्रा चिसो मौसम लालिगुराँसको जङ्गल र उकालो बाटो हुँदै ठुलो फेदि पुगियो । यो अनुभव साँच्चिकै अविस्मरणीय बन्यो । साँझ पुगेर आत्मीय बास र स्वादिलो खाना पछि हामी भोलिपल्ट बिहानको पैदलयात्राका लागि तयार भयौं । रातको ३ बजेबाट सुरु भएको पाथीभरा माताको पैदल यात्रा मोबाइलको टर्च बाल्दै उकालोमा निरन्तर हिँड्यौ ।  ६ बजे, सूर्यको किरण सँगै कञ्चनजङ्घा मुस्काउँदै थिइन र पाथीभरा मन्दिर पुगेर दर्शन गर्दा आत्मा प्रसन्न भयो । फर्किंदै गर्दा सानोफेदि बाट फुङलिङ बजार आउदा भने झण्डै हाम्रो सवारी साधन दुर्घटना परेन । यद्यपि निदाउन खोजेका चालकको सावधानी भनौ, ठूलो दुर्घटनाबाट जोगियौ । यो क्षणले जीवनको अनिश्चितता माथि झस्कायो । त्यसपछि हामी कन्यामतर्फ लाग्यौं । रातको ९ बजे पुगेर विश्राम लियौं ।  भोलिपल्ट बिहान चियाबारी घुम्दा कन्यामको सौन्दर्यले मन मोहित बनायो । यहीँ आमालाई ल्याउने संकल्प गर्दै हामी धरान पुग्यौं।


धरानमा पिण्डेश्वरी, दन्तकाली, र बुढासुब्बा मन्दिरको दर्शन पछि राति भेडेटारमा विश्राम गर्यौं ।  पाथीभरा देवी मन्दिरको यात्रा केवल धार्मिक आस्थासँग सम्बन्धित मात्र नभई प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आत्मिक शान्तिको अनुभव पनि थियो हाम्रा लागि । पूर्वी नेपालको यो पवित्र स्थलको यात्रा साच्चिकै रोमाञ्चक बन्यो हाम्रा लागि । हिमालको काखमा बसेको पाथीभरा मन्दिरबाट कञ्चनजङ्घा, मकालु, जस्ता विश्व प्रसिद्ध हिमशृङ्खलाको दृश्य समेत हेर्न सकिने । 


जंगल, पाखा, खोला, झरना र लालीगुराँस फूलहरूले यात्रा नै चित्रमय । उचाइमा पुगेर शिर झुकाउँदा आउने मनको शान्ति र विश्वासले गहिरो आत्मिक सन्तुष्टि दिदो रहेछ । कतै उकालो, कतै झरनाको छेउ हुँदै गर्नुपर्ने यस क्षेत्रको यात्रा अर्थपूर्ण हुन्छ । कतिपय ठाउँमा कुहिरोले ढाकिएको दृश्य, चिसो हावाको झोक्का र रहस्यमयी वातावरणले यात्रा झनै रोमाञ्चक बनाउदो रैछ । स्थानीयहरुसंगको भेट, उनीहरूको भाषा, नाच, गीत, र आतिथ्यताले यात्रा थप रमाइलो भयो । यात्रामा स्थानीय खानपानले फरक अनुभव दिने । पाथीभरा देवी मन्दिरको यात्रा केवल धार्मिक आस्थामात्र नभएर प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आत्मिक शान्तिको अनुभव पनि बन्यो मेरा लागि । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
23
+1
0
+1
0