
नेपाल व्यायाम मन्दिरले चैत्र सात गतेदेखि १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १७ औं धर्मश्री तथा पूर्व मेयर पि.एल. सिंह शारीरिक सुगठन प्रतियोगिता चैत ७ देखि ९ गतेसम्म हुने जानकारी दिएको हो । प्रतियोगिता अन्तर्गत चैत ७ गते वेइङ, चैत ८ र ९ गते अन्तिम चरणको प्रतिस्पर्धा हुने नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिए ।
पुरुष बडिबिल्डिङको रुपमा रहेको धर्मश्री तर्फ ६०, ६५, ७०, ७५, ८० र ८० केजीमाथि गरी कूल ६ तौल समूहमा प्रतिस्पर्धा हुने उनले बताए । धर्मश्री सँगै पुरुष एथ्लेटिक्स फिजिक ओभर र पुरुष एथ्लेटिक्स फिजिक अन्डर, महिला बडिबिल्डिङ र ५० वर्षभन्दा माथिका खुल्ला मास्टर विधामा प्रतिस्पर्धा हुने अध्यक्ष प्रधानले जानकारी दिए । धर्मश्री विजेताले १२ लाख दोस्रो हुनेले ६ लाख तथा तेस्रोले ३ लाख रुपैया पाउने उनले जानकारी दिए ।
त्यस्तै पुरुष फिजिक ओभर र अन्डर तथा महिला बडिबिल्डिङको विजेताले समान २ लाख र उपविजेताले समान १ लाख र तेस्रोले ७० हजार पाउने व्यायाम मन्दिरले जनाएको छ । ५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले नगद १ लाख पाउनेछन् भने दोस्रोले ५० हजार, तेस्रोले ३० हजार पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको कुल अनुमानित लागत रु १ करोड रहेको नेपाल व्यायाम मन्दिरले जनाएको छ ।





