
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट जोगिने खालका संरचना निर्माणका लागि केन्द्रीत हुनुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा गोरखा बारपाकमा २०७२ मा गएको भूकम्पको १० औ स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिबाट जोगिने खालका संरचना निर्माणका लागि कानुनी र व्यवहारिक अड्चनहरू, बाधाहरू, प्रावधानहरूलाई समाधान गर्नुपर्ने बताउनु भयो ।
भूकम्प लगायत प्राकृतिक प्रकोपबाट क्षति नहुने खालका संरचनाहरू तयार गर्ने, भूकम्पबाट नभत्किने संरचना वा घरहरू बनाउनु पर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले ७२ सालको भूकम्पपछि उद्धार कार्यमा, राहत कार्यका साथै पुननिर्माणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट भएको सहयोग प्रशंसनीय रहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले विनाशकारी भूकम्प गएका बेला राष्ट्रिय एकता कायम भएको स्मरण गर्नुभयो । उहाँले राष्ट्रिय र राष्ट्रिय हितका प्रश्नहरूमा वा यस्ता महत्वपूर्ण प्रश्नहरूमा राष्ट्रिय एकता अनिवार्य रहेको धारणा राख्नुभयो । त्यस्तै सुशासन र विकासका प्रश्नहरूमा पनि राष्ट्रिय एकता अनिवार्य हुनुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले लोकतन्त्रमा प्रतिस्पर्धा हुने भएकाले प्रतिस्पर्धालाई स्वस्थ र सत्यमा आधारित स्वस्थताको माध्यमबाट अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले आलोचना सत्यमा आधारित, तथ्यमा आधारित, रचनात्मक हुनुपर्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।




