
काठमाडौँ । सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै चिकित्सकहरू आन्दोलित भएका छन । उनीहरूले स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका छन् ।
आवासीय चिकित्सकलाई सेवा सुविधा दिने निर्णय मन्त्रिपरिषद्बाटै भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका हुन् । माइतिघरबाट प्रदर्शनसहित स्वास्थ्य मन्त्रालय जान खोजका आन्दोलनरत चिकित्सकहरूलाई प्रहरीले रोकेको थियो । सो क्रममा केहीबेर प्रहरी र आन्दोलनरत चिकित्सकबीच धकेलधुकुल समेत भएको थियो ।
उनीहरूले चिकित्सा आयोगद्वारा निर्धारित आठौँ तहको तलब संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसँग माग गरेका छन् ।
चिकित्सक संघले आफ्ना मागहरू पुरा नभए बैशाख १२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।




