
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी शिक्षा स्थापित गर्छु भन्ने पार्टीका नेता अहिले प्रधानमन्त्री भएपछि लाखौं शिक्षकहरूको मागलाई कुल्चिएर हिँडेको आरोप लगाउनु भएको छ । शिक्षकहरूले विभिन्न माग राख्दै लामो समयदेखि काठमाडौँ केन्द्रीत प्रदर्शन जारी राखेको समयमा खनालको यस्तो अभिव्यक्ति आएको हो ।
नेता खनालले प्रधानमन्त्रीका कारण शिक्षामन्त्रीले राजीनामा दिनुपरेको बताउनुभएको छ । खनालले शिक्षकहरूको माग पुरा गर्नुपर्ने शिक्षामन्त्रीको प्रस्तावलाई प्रधानमन्त्रीले अटेर गर्दा बाध्यताका कारण राजीनामा दिनुपरेको बताउनुभएको हो ।
त्यस्तै उहाँले कम्युनिष्ट पार्टीले घोषणापत्रमा उल्लेख गरेका विषयबाट सत्तामा पुगेपछि वेवास्ता गरेका कारण जनताले नपत्याउने अवस्था सिर्जना भएको धारणा राख्नुभयो ।
खनालले कांग्रेसको पिठ्युँमा बसेर एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने घमण्ड गरेको तर्क गर्नुभयो । कांग्रेसको पिठ्युँमा बसेर केहि दिनअघिसम्म कराइरहेका प्रचण्ड बाहिर आएपछि क्रान्तिकारी जस्तो कुरा गर्न लागेको उहाँले तर्क गर्नुभयो । उहाँले कांग्रेस दलाल पुँजीपति वर्गको पार्टी भएको धारणा राख्नुभयो ।
खनालले कम्युनिष्ट पार्टीबाट विगतमा भएका गल्ती कमजोरीलाई सुधार गर्दै अघि बढाउने दिशामा आफू बढेको दाबी गर्नुभयो ।




