काठमाडौँ । लामो समयदेखि नेपाली राजनीतिको लगाम घुमिफिरी आफ्नो हातमा पार्दै आएका ठूला दलमा मूल नेतृत्व परिवर्तनको बहसले स्थान पाएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा नेतृत्व परिवर्तनको विषयले स्थान पाएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विकल्पका विषयमा एमाले नेताहरू खुलेर बोल्न नसकेको भएपनि कांग्रेसमा सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विकल्पको विषयमा भने अन्य नेताहरूले खुलेरै विषय उठान गरेका छन । यद्यपि यसरी नेतृत्व परिवर्तनको विषय उठाउने नेताहरूनै उनीहरूको विकल्पमा को भन्ने विषयमा भने अलमलमा नै देखिन्छन । एमाले छोडेर माओवादी केन्द्र र नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको बहस घनीभूत रूपमै चलेको छ । दुवै पार्टीका बैठकमा नेताहरूले नेतृत्वको कमी कमजोरी खुट्याउँदै खुलेर आलोचना गरेका छन् ।

नेतृत्वमाथि साझा प्रश्न समेत गरेका छन् । दुवै पार्टीका नेतामाथि नेतृत्व हस्तान्तरणबारे साझा प्रश्न उठेको छ । नेतृत्व हस्तान्तरणसँग जोडेर उठाइएका प्रश्न कांग्रेस र माओवादीमा समान छन् । यद्यपि अरु विषय र पृष्ठभूमि भने दुवै पार्टीमा फरकफरक छन् । नेपाली कांग्रेसको सभापतिमा हाल शेरबहादुर देउवा दोस्रो कार्यकाल सम्हालिरहेका छन् । २०७८ सालमा सम्पन्न १४ औँ महाधिवेशन मार्फत डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भएका हुन् । विधानतः देउवाले तेस्रो कार्यकालको नेतृत्व गर्ने छैनन् तर आगामी २०८२ सालमा गर्नुपर्ने १५ औँ महाधिवेशन देउवाले अनेक बहानामा पर सार्ने हुन् कि भन्ने त्रास नेताहरूमा देखिन्छ । सोही त्रासका कारण नेताहरूले समयावधिभित्र महाधिवेशन नहुने हो कि भनेर आशङ्का मिश्रित प्रश्न गरेका छन् ।

यता माओवादी केन्द्रमा उपमहासचिवहरू जनार्दन शर्मा र वर्षमान पुन दुवैले अध्यक्ष दाहाललाई नेतृत्व हस्तान्तरण गर्न दबाब बढाएका छन् । शर्मा र पुनको भाषा शैली फरकफरक भए पनि आशय दाहालले नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने देखिन्छ । माओवादी स्थायी कमिटी बैठकमा नेता शर्माले त लिखित डकुमेन्ट नै पेस गरेका थिए । शर्माले मात्र होइन, पुनले पनि दाहालको विकल्प खोज्नेबेला भइसकेको बताएका थिए ।

अबको नेतृत्व अविच्छिन्न हुनु नहुने उनको तर्क छ । कांग्रेसमा छुट्टै र माओवादीमा छुट्टै मेलो भएपनि अहिले दुवैतिर नेतृत्वमाथि साझा प्रश्न उठेको छ नेतृत्व हस्तान्तरणको । त्यसो त एमालेमा पनि कतिपय नेताहरूले एमालेको विकल्प खोज्ने प्रयास नगरेका होइनन् । तर ओलीको विरोध गर्दा भीम रावलको अवस्था आउन सक्ने भएका कारण ओलीका सामु उनको विकल्प खोज्नेहरु निरीह देखिएका छन । यद्यपी पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा सक्रिय गराएर नेतृत्व परिवर्तन गर्न एमालेमै पनि कतिपय सक्रिय देखिन्छन ।

नेपालको सत्ता राजनीतिको लगाम घुमीफिरी ओली, दाहाल र देउवाको हातमाभन्दा पर पुगेको छैन । तर अहिले भने तिनै अध्यक्षको विकल्पको खोजि सुरु हुँदा तीनै नेता समयक्रमसंगै पार्टीमै पनि कमजोर बन्दै जान थालेको पुष्टि हुने गरेको छ । यदपी नेतृत्व परिवर्तनको विषय उठान गर्नेहरुनै अवको नेतृत्वमा को भन्ने विषयमा अन्यौलमै रहदा यसै होला भन्न सकिने अवस्था नभएपनि तीने नेताहरूले केहि समयमै नेतृत्वबाट विश्राम लिनुपर्ने अवस्था आउन सक्नेभने सजिलै अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0