
काठमाडौ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै मङ्गलबार शिक्षकहरूले टर्च बालेर काठमाडौंमा प्रदर्शन गरेका छन् । सडक आन्दोलनको सातौ दिनमा अझै पनि आफ्ना माग सुनवाईमा सरकारको ध्यान नगएको भन्दै उनीहरूले टर्च बालेर प्रदर्शन गरेका हुन् । काठमाडौँ केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासङ्घले सोमबारदेखि शैक्षिक हडताल गरेका छन् ।
विद्यालयमा पठनपाठन बन्द गर्दै देशभरका शिक्षकहरू काठमाडौँ केन्द्रीत आन्दोलनमा सहभागी भएका छन् । मङ्गलबार माइतिघरदेखि बानेश्वरसम्म टर्च बालेर प्रदर्शन गर्दै उनीहरूले यसअघि आफुहरु संग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन् ।
लामो समयदेखि सरकारले शिक्षकहरूको माग पुरा नगरेका कारण बाध्य भएर आन्दोलनमा सहभागी हुनुपरेको उनीहरूको भनाइ छ ।महासङ्घले आफूहरूको माग सरकारले नसुने थप कडा सङ्घर्षको कार्यक्रम आयोजना गर्ने चेतावनी दिएको छ ।




