
पर्सा ।तराईवासीको महान पर्व चैते छठको आज दोश्रो दिन खरना मनाइदै छ । पर्सा लगायतका जिल्लामा छठको रौनक बढेको छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर र रोटी प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ । आज छठ भक्तालुहरूले उपवास बसेर साँझपख नियम र निष्ठाका साथ दूध र सख्खरमा बनाइएको खीर र रोटी आफू ग्रहण गर्नुका साथै घरपरिवारका सदस्यहरूलाई समेत खान दिन्छन् ।
जसलाई रसियाव रोटी पनि भन्ने गरिन्छ । पारिवारिक सुख शान्ति र समृद्धिको कामना गरी चारदिनसम्म मनाइने छठ व्रतालुहरुले नुहाएर अरबा अरबाइन एवं चोखो खानेकुरा खाएपछि विधिवत रुपमा सुरु भएको हो । भोली छठ पर्वको मुख्य दिन रहेको छ । तेश्रो दिन अर्थात भोलि निरहार उपवास बसेर साँझ पवित्र पोखरी, जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर वर्तको समापन गरिन्छ । छठको मुख्य दिन अस्ताउँदो सूर्यको अर्घ दिने दिनलाई सझिँया घाट र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिने दिनलाई पारण भनिन्छ । यस पर्वमा प्रसादको रुपमा ठेकुवा, नरिवल, केरा, सुन्तला, उखु, हरियो अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवतालाई चढाउने गरिन्छ ।
छठ पर्वमा सूर्य भगवानलाई अर्घ दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ । शरद र वसन्त ऋतु गरी वर्षमा २ पटक छठ पर्व मनाउने गरिन्छ । तराई क्षेत्रमा हर्षोल्लासका साथ मनाउने छठ पर्वका लागि अहिले वीरगञ्जका घडीअर्वा, रानीघाट, राधेमाईटोला, नगवा लगायतका पोखरीहरू सरसफाइ गरिएको छ ।




