
बर्दिया । बर्दियामा गैंडा गणना अनिश्चितकालका लागि स्थगित भएको छ । हरेक तीन वर्षमा गरिने गणना अनिश्चिकालका लागि स्थगित भएको हो । आर्थिक अभावका कारण यसवर्ष चैतमा हुने भनिएको गैंडा गणना नहुने भएको बर्दिया निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।दाताको सहयोगमा हुँदै आएकोमा यसवर्ष सहायता रोकिएपछि गैंडा गणना रोकिएको हो ।
करिब चार महिनाअघि निकुञ्जले गैंडाको संख्या र अवस्था बुझ्न अनुगमन गरेको थियो । निकुञ्जमा २०२२ मा भएको गणनामा ३८ वटा गैंडा गणना गरिएको थियो । बर्दिया निकुञ्ज हुँदै बग्दै गरेको गेरुवा नदीमा पानी सुकेका कारण केही गैंडा पानी खोज्दै भारतको सेन्चुरीमा पुगेको आशंका गरिएको छ ।
कर्णाली नदीको भंगालो गेरुवा नदीमा ०७१ र ०७४ सालमा आएको बाढीले नदीजन्य पदार्थ थुपारेपछि धार परिवर्तन गर्दा पानी सुक्दै गएको हो । चितवनबाट बर्दिया निकुञ्जमा स्थान्तरण गरिएका ८३ गैंडामध्ये द्वन्द्वकालमा चोरी सिकारीबाट ३६ र प्राकृतिक कारणले २४ वटा मारिएका थिए ।




