काठमाडाै । नेपालको सत्ता राजनीतिमा आफ्नो सांसद सङ्ख्याको भरपुर उपयोग गरेका नेता हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । संसद्‌मा कमजोर उपस्थिति रहेपनि ठूला दलहरूलाई आलोपालो उपयोग गरेर सत्ता राजनीतिको लाभ लिन सके पनि उनले आफ्नो पार्टीको सांसद सङ्ख्यालाई जादुको सङ्ख्या समेत भन्ने गरेका थिए । तर अहिले समय फेरिएको छ । उनको ३२ को जादु चल्न मात्र छोडेको छैन, उनी सत्ता राजनीतिबाट रिङ आउट भैसकेका छन । ठूला दलको सत्ता समीकरण बनेपछि कतिपय पदीय भागबन्डामा समेत उनै दाहालको दल माओवादी केन्द्र कमजोर देखिएको अवस्थामा अहिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको सांसद सङ्ख्या भने सत्ता गठबन्धनका लागि सञ्जीवनी बुटी बनेको छ ।

राष्ट्रिय सभामा जसपा नेपाल सङ्ख्या सत्ता गठबन्धनका लागि सञ्जीवनी बुटी जस्तै बनेपछि सत्ता पक्षमै रहँदा समेत उपेक्षामा परेका यादव र उनको पार्टीको बार्गेनिङ पावर समेत बढेको छ । काङ्ग्रेससहितका दलहरूको सहकार्यबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको पनि सात महिना पुरा हुन थालेको छ । यसपटकको सत्ता गठबन्धनमा कांग्रेस–एमाले मात्र होइन, जनता समाजवादी पार्टी जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जसपा नेपाल  पनि आबद्ध छन । गठबन्धनमा रहेका कतिपय दल सरकारमा सामेल भएपनि जसपा नेपाल भने सरकारमा सहभागी छैन । ओली प्रधानमन्त्री भएयता भएका राजदूत लगायत अन्य भागबन्डामा समेत जसपा नेपाल सहभागी भएको थिएन ।

त्यसो त ठूला दलहरू सम्मीलित सत्ता समीकरणमा साना दलहरूको सहभागिता अनिवार्य समेत थिएन । त्यस्तै साना दलहरूलाई ठूला दल एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले समेत सम्झने प्रयास गरेका थिएाा । खासै वास्ता नगरिएका तिनै उपेन्द्र यादवको याद ओली–देउवालाई अहिले एकाएक आएको छ । अहिले सत्ता समीकरणका ठूला दल कांग्रेस एमालेका शीर्ष नेताहरूले आलोपालो फोन सम्पर्क मात्र होइन भेटघाटको क्रम पनि बाक्लिएको छ । एउटा सांसद वटारिदा समीकरण परिवर्तन हुने विगतको परिस्थितिबाट माथि उठेर ठूला दलको सहकार्य भएपनि साना दलको बार्गेनिङ पावर मात्र घटेको थिएन । ठूला दलहरूले वास्ता समेत गर्न छोडेका थिए । तर अहिले समय फेरिएको छ । कुनै समय ठूला दलको किनारामा परेका उपेन्द्र यादवको खोजि हुन थालेको छ ।

अहिले यादव देउवा–ओलीले बोलाउनासाथ बुढानीलकण्ठ र बालुवाटार पुगेका छैनन । बरु यादलवले गतिलो बदला लिएका छन । आफूसँग बार्गेनिङ गर्नुपर्ने स्थितिमा देउवा–ओलीलाई पु-याएका छन ।  कांग्रेस–एमालेले २४ माघमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित गर्ने तयारीसाथ पेस गरेको ६ अध्यादेश त्यसदिन कार्यसूचीबाटै हटाइनु त्यही बदलाको परिणाम भएको राजनीतिका जानकारहरुको तर्क छ । अब थप बदलाबाट जोगिन देउवा र ओलीले यादवसँग बार्गेनिङ गर्ने जानकारहरुको भनाइ छ । यादव नेतृत्वको जसपा नेपाल सहमत भएको भए 


बुधबारै दुवै सदनबाट अध्यादेशहरू पारित गर्ने सरकारको तयारी थियो । तर, यादवले अध्यादेशका विषयमा कार्यदल गठन गरे र सबै काम त्यसैले गर्छ भन्दै यस विषयमा देउवा–ओलीसँग मौन रहेका थिए । यादव नेतृत्वको जसपा नेपालको ३ सिटबिना अध्यादेश अनुमोदनका लागि राष्ट्रिय सभामा सत्तापक्षको बहुमत पुग्दैन। जसपा नेपालको तीन सिट ओली सरकारले जारी गरेका ६ अध्यादेशका लागि  अहिले सञ्जीवनी बुटी बनेको छ । नेपाली राजनीतिको संसदीय अंकगणितमा माओवादी केन्द्रको ३२ सिटको जादु चल्न छोडको समयमा यादव नेतृत्वको जसपाको तीन सिटको जादुले ठूला दलहरूलाई बार्गेनिङ गर्नुपर्ने अवस्थामा पु-याइदिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0