
काठमाडाै ।विभिन्न समयमा फुट र जुटको सामना गरेको बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँ शक्ति को महाधिवेशन यही माघ २७, २८ र २९ गते हुने भएको छ । भट्टराईको प्रयोग समय समयमा असफल भएको पार्टी नयाँ ढङ्गले अघि बढ्ने नेताहरूले दाबी गरेका छन । यद्यपि हालको अवस्थामा उनको पार्टीले गति लिने सङ्केत भने देखिदैन । महाधिवेशन नजिकिँदै गर्दा केन्द्रीय तहका विभिन्न पदमा नेताहरूले आकाङ्क्षा देखाएका छन । पदाधिकारीमा प्रतिस्पर्धाका लागि आफू निकटका प्रतिनिधिहरूसँग भेला र छलफल समेत बढेको छ । महाधिवेशनबाट नयाँ शक्तिको नयाँ नेतृत्व चयन हुनेछ । पदाधिकारीमा अध्यक्ष, पाँच उपाध्यक्ष महासचिव, तीन सचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । महाधिवेशन देशभरबाट १६ सय प्रतिनिधि उपस्थित हुँदैछन् ।
ती प्रतिनिधिले पार्टीका अध्यक्ष, पदाधिकारीहरू समावेशी र समानुपातिक आधारमा प्रत्यक्ष निर्वाचित प्रणालीद्वारा चुन्ने छन । कात्तिक ५ र ६ गते पोखरामा सम्पन्न प्रथम विधान अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ सदस्यीय र पदाधिकारी ११ सदस्यीय हुने व्यवस्थासहितको विधान अनुमोदन गरेको थियो । अध्यक्षमा तत्कालका लागि बाबुराम भट्टराईको विकल्प देखिदैन । नेतृत्वका लागि पार्टी पङ्क्तिका जोकसैले प्रतिस्पर्धा गर्न सक्ने भए पनि भट्टराईको नेतृत्वमा मात्रै वैकल्पिक राजनीतिक शक्तिलाई उचाइतर्फ लैजान सकिने अधिकांश नेताहरूको बुझाई देखिन्छ । त्यसैले हालसम्मको अवस्थामा अध्यक्षका लागि बाबुराम भट्टराईको विकल्प देखिएको छैन । मुलुकसामु आर्थिक क्रान्ति गरेर देशमा रहेको बेरोजगारी र गरिबी हटाउने उद्देश्यले नयाँ शक्ति पार्टी स्थापना गरेको भनिएपनि पार्टी भने जुट र फुटको शृङ्खलाका रहँदा गतिशील बन्न नसकेको देखिन्छ ।
महाधिवेशन मार्फत पदाधिकारीमा आउनका लागि भने धेरै नेताहरूले आकाङ्क्षा देखाएका छन । अध्यक्षपछिको महत्वपूर्ण पद महासचिवका लागि धेरै नेताहरू आकांक्षी छन । डा. जनक शाह, कृष्ण शर्मा, ईश्वर रिजाल, जीएस गुरुङ, सोनामसिं लामालगायतले महासचिवमा आकाङ्क्षा देखाएको छन । डा. बाबुराम भट्टराईलाई श्रीमती हिसिला यमी र छोरी मानुषीलाई पार्टी पदाधिकारीमा राखेको भन्दै आलोचना हुने गरेको छ । यस्तो आलोचनाबाट मुक्त हुन बाबुरामले हिसिला र मानुषीलाई कुनै पदका लागि आग्रह गरेका छैनन् ।
पूर्वमन्त्रीसमेत रहेकी हिसिला यसअघि पार्टी उपाध्यक्ष थिइन । आम चुनावमा काठमाडौँ–७ बाट चुनाव लडेकी मानुषीको पार्टीमा चर्चा छ । उनी हाल पार्टीको प्रचारप्रसार तथा आईटी विभाग प्रमुखको जिम्मेवारीमा छन । महाधिवेशनमा उनि कुन पदमा प्रतिस्पर्धा गर्ने टुंगोमा पुगिसकेको देखिदैन ।
महाधिवेशनको मिति नजिकिदै जादा आकांक्षीहरुको लर्को त पार्टीभित्र लामै देखिएको छ । पार्टी एकतामा माओवादी अध्यक्ष पुष्पकमल दाहालको वेवास्तामा परेको तथा वैकल्पिक शक्तिका रुपमा पार्टीलाई स्थापित गराउनु साटो समय समयमा फुट र जुटको सामना गर्दै आएको पार्टी महाधिवेशनपछि कति चलाएमान हुँन्छ त्यो भने समयले नै बताउने छ ।




