काठमाडौँ । नेपाली कांग्रेस र एमाले सम्मीलित सत्ता समीकरण बनेपछि सत्ता राजनीतिबाट किनारामा पुगेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल दुई नेताको सम्बन्ध तोड्न सक्रिय छन । उमेरले ७० काटेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सक्रियता प्रतिपक्षमा पुगेपछि निकै बढेको छ ।

देश दौडाहामा निश्किएर केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लामो छैन भन्नेदेखि प्रतिपक्ष दलहरूलाई एउटै मोर्चामा सहभागि गराउने काम सम्म गर्न भ्याएका छन दाहालले । आम निर्वाचन पछि एमाले अध्यक्ष ओलीको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल उनै ओलीकै कारण सत्ताबाट बाहिर पुगेका छन । संसदका दुई ठूला प्रतिस्पर्धी दललाई आलोपालो उपयोग गरेर लाभ लिएका दाहाललाई उनै दुई दल मिलेर पाखा लगाइदिएपछि उनी सकसमा छन । लामै समय सत्ता राजनीतिमा कमजोर उपस्थितिका बाबजुद राम्रै लाभ लिएका दाहाल सत्ता राजनीतिबाट किनारामा पुगेपछि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बन्ध तोड्न सक्रिय भएर लागेका छन । त्यसका लागि विपक्षी मोर्चा बनाउने, समाजवादी मोर्चालाई सक्रिय बनाउने लगायतका पहल थालेका छन दाहालले ।

यद्यपि देश दौडाहमा रहँदा आफ्नो ध्यान सत्तामा नभएर जनता केन्द्रीत रहेको अभिव्यक्ति भने दिन छोडका छैनन् । दाहालका आजकलका हरेकजसो अभिव्यक्ति, राजनीतिक दौडधुप सत्तामा फर्किने प्रयास रहेको जानकारहरूको तर्क छ । सत्ता राजनीतिमा उनी बाहिर पुगेको मात्र होइन पार्टी भित्रपनि उनको आलोचना सुरु भएको छ । आम निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सरकारको नेतृत्व गरेका पुष्पकमल दाहाल ओलीकै कारण सत्ता राजनीतिको रिङ आउट भएका हुन । त्यसैले अहिले दाहाल ओलीप्रति अलि गरम तथा देउवाप्रति अलि नरम सुनिने गरेका छन । देउवालाई विश्वासमा लिन सके ओलीलाई सत्ता राजनीतिबाट पर राख्न सकिने बुझाई दाहालमा देखिन्छ । माओवादीले केन्द्रको ३२ सिटलाई जादुयी नम्बर भएकाले आफू पाँचै वर्ष प्रधानमन्त्री बन्ने दाबी गरेका दाहाल ओलीको योजनावद्ध मुभका सामु कमजोर सावित भएपछि अहिले उनको ओलीप्रति आक्रोश देखिन्छ । दाहाल सत्ता राजनीतिबाट पर पुगेपछि यसले उनको सत्ता यात्रामा मात्र असर परेको छैन, उनको पार्टीलाई पनि कमजोर अवस्थामा पु-याएको छ । प्रतिस्पर्धी यी दुई दल हत्तपत्त मिल्न नसक्ने अनुमान गरेका दाहालले कहिले एमाले, कहिले कांग्रेसको ओत लागेर लामै समय सत्ताको लाभ लिएका थिए । बारम्बार उनिबाट धोका पाएका कांग्रेस र एमाले एक ठाउँमा उभिएपछि उनी किनारा लागेका हुन । नेपाली राजनीतिका चतुर तथा समय समयमा रंग बदल्ने पात्रका रुपमा स्थापित दाहाल पुनः सत्ता राजनीतिमा पुग्नेगरि अल्पकालिन र दिर्घकालिन योजना बनाइरहेका देखिन्छन ।

आफू जीवित रहेसम्म राजनीतिक उथलपुथल भइरहने दाहालको भनाइ रहने गरेको छ । दुई प्रतिस्पर्धी दल कांग्रेस र एमाले कहिल्यै मिल्न नसक्ने अनुमान गरेका उनले पछिल्लो ७ बुँदे सहमतिपछि ठुलो धक्का खाएका छन् । संविधान आवश्यक परिमार्जन सहित ०८४ को निर्वाचनसम्म आलोपालो सरकार चलाउने कांग्रेस–एमालेबिच भएको सहमतिले माओवादीलाई झस्काएको छ । माओवादी केन्द्र एकपछि अर्को शृङ्खलामा सत्ताको नजिक र जनतासँग टाढिँदै जाँदा गम्भीर सङ्कटमा फसेको देखिन्छ ।

संख्यात्मक रुपमा वलियो सरकार बनेपछि अहिले साना दलहरुको चुरीफुरी समेत ठेगान लागेको छ । यस्तो अवस्थामा सत्ता राजनीतिमा लामो समय लाभ लिएका दाहाललाई सत्ताविना सकस देखिनु सामान्य नै हो । त्यसैले दाहाल पनि हरसम्भव सत्ता राजनीतिको लगाम पुन आफ्नो हातमा लिनेगरि लागेको देखिन्छ । काँध फेरेरै भएपनि सत्ता राजनीतिलाई आफ्नो हातबाट पर पुग्न नदिएका दाहालको वर्तमान रणनीति कति सफल हुन्छ त्यो भने समयले नै देखाउने छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0