
नेपाली कांग्रेसका पर्सा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटालाई भारी मतले विजयी गराउने उद्देश्यका साथ नेपाल दलित संघ पर्साले औपचारिक रूपमा चुनावी अभियान सुरु गरेको छ।
दलित समुदायको हक अधिकार, समान सहभागिता र सशक्तिकरणका लागि लामो समयदेखि निरन्तर संघर्ष गर्दै आएको नेपाल दलित संघले यस निर्वाचनमा उम्मेदवार रुङटाप्रति पूर्ण समर्थन जनाउँदै घरदैलो अभियान, टोल भेला तथा अन्तरक्रिया कार्यक्रमलाई तीव्र बनाएको हो।
अभियानका क्रममा आयोजित भेलालाई सम्बोधन गर्दै उम्मेदवार अनिल रुङटाले दलित समुदाय लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै संविधानले सुनिश्चित गरेका दलित अधिकारलाई व्यवहारमा लागू गराउने जिम्मेवारी अझै बाँकी रहेको बताए। उनले नेपाली कांग्रेस मात्रै समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरको पक्षमा दृढतापूर्वक उभिएको पार्टी भएको दाबी गर्दै आफू निर्वाचित भए दलित समुदायको शिक्षा, रोजगारी, स्वास्थ्य र सम्मानजनक जीवनका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए।
त्यसैगरी नेपाल दलित संघ पर्साका अध्यक्ष बुनेल रामले दलित समुदायमाथि हुने विभेद, बहिष्कार र अन्यायको अन्त्यका लागि कांग्रेसको नेतृत्व निर्णायक रहेको बताए। उनले पर्सा क्षेत्र नं. १ मा अनिल रुङटाको उम्मेदवारी दलित समुदायको आशा र भरोसाको प्रतिनिधित्व गर्ने भन्दै यस निर्वाचनमा दलित समुदाय एकजुट भएर कांग्रेस उम्मेदवारलाई विजयी गराउनु आवश्यक रहेको धारणा राखे।
भेलामा नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय कुमार द्विवेदी, कार्यवाहक सभापति रामनारायण कुर्मी, नेता अरबिन्द गुप्ता, लक्ष्मण हजरा, कृष्ण राम, शर्मा सरभंग, किरण सरकारलगायत पार्टीका अगुवा नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले लोकतन्त्र सुदृढीकरण, समावेशी शासन व्यवस्था र सामाजिक न्याय स्थापनाका लागि दलित समुदायको निर्णायक भूमिका रहेको उल्लेख गर्दै आसन्न निर्वाचनमा सचेत, संगठित र सक्रिय सहभागिता जनाउँदै परिवर्तन र लोकतान्त्रिक मूल्यको पक्षमा मतदान गर्न दलित समुदायलाई आग्रह गरेका थिए।





