
पर्सा । पर्सा मदिरा व्यवसायी संघको प्रथम वार्षिक साधारण सभाको उद्घाटन गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले व्यवसायीहरूलाई सङ्गठित, जिम्मेवार र अनुशासित रूपमा अघि बढ्न आग्रह गर्नुभयो । उहाँले मदिरा व्यवसाय पनि राज्यको कानुन र नियमभित्र रहेर सञ्चालन हुने वैद्य व्यवसाय भएको उल्लेख गर्दै यस क्षेत्रका व्यवसायीहरूको समस्या र चुनौती समाधानका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । अध्यक्ष गौतमले स्थानीय अर्थतन्त्रमा मदिरा व्यवसायीहरूको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै कर प्रणाली, प्रशासनिक झन्झट तथा बजार व्यवस्थापनका विषयमा सरोकारवालाहरूले सकारात्मक भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

सङ्घका अध्यक्ष चिनिलाल पटेलको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार तुलसी भण्डारीले मदिरा व्यवसायलाई कानुनी दायराभित्र मर्यादित र जिम्मेवार रूपमा सञ्चालन गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले मदिरा व्यवसाय राज्यको महत्वपूर्ण राजस्व स्रोत रहको हुँदा व्यवसायीहरू अनुशासित, पारदर्शी र सामाजिक उत्तरदायित्वप्रति सचेत हुन जरुरी रहेको बताउनु भयो । नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष राम नारायण कुर्मीले मदिरा व्यवसायसँग सम्बन्धित कानुनी पक्ष, कर प्रणाली तथा व्यवसायीहरूको हकहित संरक्षणमा राज्यको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा संघका उपाध्यक्ष सन्दीप कुमार गुप्ताले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव प्रदीप कुमार लोहारले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुभयो। कोषाध्यक्ष राकेश कुमार साहले आर्थिक वर्ष २०८०/०८१ को आयव्यय विवरण सार्वजनिक गर्नुभएको थियो ।
सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि संघको नीति, कार्यक्रम तथा वार्षिक बजेट प्रस्तुत गरी छलफलपछि सर्वसम्मत रूपमा अनुमोदन गरिएको संघले जनाएको छ। साथै मदिरा व्यवसायसँग सम्बन्धित समसामयिक समस्या, कर प्रणाली, प्रशासनिक झन्झट, बजार व्यवस्थापन तथा व्यवसायीहरूको हकहित संरक्षणका विषयमा विस्तृत छलफल गरिएको थियो ।
सभाको बन्द सत्रबाट संघको ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ । नवगठित कार्यसमितिमा अध्यक्षमा चिनिलाल पटेल, उपाध्यक्षमा सन्दीप कुमार गुप्ता, महासचिवमा प्रदीप कुमार लोहार, सचिवमा रबिन्द्र प्रताप साह तथा कोषाध्यक्षमा राकेश कुमार साह चयन हुनुभएको छ। सदस्यहरूमा मनिष प्रसाद कलवार, अनिल कुमार चापागाईं, राम कुमार यादव र रन्जित जैसवाल रहेका छन ।
निर्विरोध चयन भएका नयाँ कार्यसमितिलाई नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष राम नारायण कुर्मीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा संघका उपाध्यक्ष संदिप कुमार गुप्ताले गर्नु भएको थियो भने सहजीकरण उजवल घिमिरेले गर्नु भएको थियो ।


