
काठमाडौं, ४ श्रावण । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक भएको छ। महानगरपालिकाले यस वर्ष प्रदान गर्न लागेको छात्रवृत्तिको लागि शनिबार प्रवेश परीक्षा सञ्चालन गरेको थियो। त्यसको आज नतिजा महानगरले प्रकाशन गरेको हो।
विद्यार्थीले प्राप्त पासपोर्ड र विवरणबाट यहाँ लगइन गरेर नतिजा हेर्न सक्नेछन्। परीक्षा शनिबार बिहान ८ देखि १० बजेसम्म ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालन भएको थियो। महानगरको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट भएका थिए।
तीमध्ये १४,१७३ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०र३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिएका थिए। गलत उत्तरका लागि नकारात्मक अङ्कन नहुने र उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क आवश्यक रहेको थियो ।
परीक्षाको उत्तरपुस्तिका ओएरआर प्रणालीमार्फत जाँच भएको थियो । यो प्रणालीमा मेसिनले उत्तरपुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ, जसले परिणामको शुद्धता र पारदर्शिता सुनिश्चित गर्छ ।




