काठमाडौँ । विगतको आम निर्वाचनमा खराब चुनावी नतिजाका कारण नेकपा एकीकृत समाजवादीको राजनीतिक भविष्यबारे विगतदेखि अनेक आकलन राजनीतिक वृत्तमा भैरहेको थियो । पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ । एमालेमा १५ वर्ष शक्तिशाली महासचिव बनेका नेपाल सोही पार्टीसँग टसल परेपछि अलग पार्टी घोषणा गर्न पुगेका थिए । एमाले अध्यक्ष केपी ओलीसँग विग्रह बढेपछि नेपालले २०७८ भदौ ९ गते आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । एमालेसँग छुट्टिएपनि सधैँजसो सकसमा देखिएको पार्टी र त्यसका अध्यक्ष नेपाल भ्रष्ट्राचार मुद्दापछि थप तनावपूर्ण अवस्थामा देखिएका छन । 

तत्कालीन नेकपा एमाले भन्दा भिन्दै पार्टी बनाउने, एमालेभित्र ओलीको हैकम सहेर नबस्ने भन्दै छुट्टै पार्टी बनाएका माधव नेपाल अहिले अस्तित्व रक्षाको खोजीमा देखिएका छन । त्यसो त निर्वाचनमै गठबन्धन गरेर जादा समेत खराब नतिजा हात लागेपछि उनको पार्टी नेकपा एकीकृत समाजवादीको भविष्यमाथि अनेक आकलन त्यतिबेला देखिनै सुरु भएको थियो । पार्टीभित्रै भिन्न मत देखिँदा अध्यक्ष माधवकुमार नेपाल थप दबाबमा त यस अघि पनि थिए । तर अहिले उनीमाथि नै पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी थप तनावपूर्ण अवस्थामा पुगेका छन । 

अख्तियारको मुद्दापछि अध्यक्ष माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ ।  पतञ्जलि योगपीठलाई हदबन्दी भन्दा बढी जग्गा किन्न दिएको र किनेको भन्दा बढी मूल्यमा २ महिनामै बेच्ने गरी नीतिगत निर्णय मन्त्रिपरिषदबाट गराएको विषयमा अख्तियारले उनीमाथि मुद्दा लगाएको हो । नेपालको इतिहासमा पूर्व प्रधानमन्त्रीमाथि अख्तियारले यति गम्भीर मुद्दा लगाएको सम्भवतः यो पहिलो पहिलो घटना हो । 

गम्भीर मुद्दा लागे पनि नेता नेपालले कानूनी लडाईं लडेर जाने तर, हतारिएर अध्यक्षबाट राजीनामा नदिने मनस्थिति बनाएका देखिन्छन । आम सार्वजनिक टिप्पणीमा र जनता तथा सचेत समुदायबीच तामेलीमा राखिएको मुद्दा विषय झिकेर माधव नेपाललाई राजनीतिक पूर्वाग्रह साँधिएको नेपाल पक्षीय नेताहरूको तर्क रहँदै आएको छ । तामेलीमा राखिएको विषय एकाएक झिक्नु भनेको राजनीतिक प्रतिशोधबाहेक केही होइन भन्नेमा उक्त पार्टीका अध्यक्ष समर्थक नेता कार्यकर्ताको मत रहेको छ । 

एमालेबाट विद्रोह गरेर पार्टी बनाएका अध्यक्ष नेपालमाथि मुद्दा लगाइएपछि सामूहिक रूपले प्रतिवाद गरेर जानुपर्ने मत उनिहरुको छ । नेपालमाथि मुद्दा लागेपछि कुनै पनि नेताले खुलेर उनीमाथि राजीनामाको दबाब बढाएका छैनन् । तर झलनाथ खनालले भने अरूले जसरी राजनीतिक प्रतिशोधको कुरा गरेका छैनन । उनले शुरूबाटै तथ्य बुझेर मात्रै बोल्नुपर्ने र कानूनलाई सघाएर जानुपर्छ भन्ने तर्क गर्ने गरेका छन । 

पार्टी गठन भएदेखि नै एमालेको निशानामा समाजवादी परिरहेको छ । त्यसो त १० सांसदमध्ये ३/४ जनाले जतिखेर पनि पार्टी फोर्ने चेतावनी दिँदै आएका छन् । अर्को पार्टीबाट अलग भएको ५ वर्ष नपुगी पुनः फुट्न नपाइने कानूनी बाध्यताले मात्रै नेकपा एस फुट्नबाट जोगिएको राजनीतिका जानकारहरुको मत रहने  गरेको छ । त्यसैले अहिले अध्यक्ष छाड्दा पार्टीको लगाम अर्कोतिर पुग्ने र आफूलाई थप अप्ठ्यारो पर्ने बुझाइमा नेपाल छन् । यसैले उनलाई ठूलै नैतिक प्रश्न नआएसम्म कुनै हालतमा अध्यक्ष पद नछाड्न निकटस्थले सुझाव दिने गरेका छन । यदपी सुरुदेखिनै सकसमा देखिदै आएको पार्टी र त्यसका अध्यक्ष नेपाल पतञ्जलि प्रकरणपछि थप संकटमा देखिएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0