
काठमाडौँ । लाङटाङ पदयात्रामा जाने लुम्बिनी पर्यटन सञ्चार प्रतिष्ठानमा आवद्ध पत्रकारहरूलाई भिलेज हाइल्याण्ड रिसोर्टले बिदाई गरेको छ । स्थलगत समाचार सङ्कलनका लागि लाङटाङ क्षेत्रको स्थलगत रिपोटिङका पत्रकारहरू लाङटाङ पुग्ने भएका हुन ।
लाङटाङ पदयात्राका लागि जाने प्रतिष्ठानमा आवद्ध पत्रकारहरूलाई भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोट भक्तपुरले आइतबार एक कार्यक्रमकाबीच बिदाइ गरेको छ। भिलेज हाइल्याण्डका अध्यक्ष रामसुन्दर बकेले पत्रकारहरूलाई खादा ओढाएर बिदाइ गरेका हुन्।
बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बकेले लाङटाङ पदयात्राको रिपोटिङमा जान लागेकोमा खुशी व्यक्त गरे । मूलधारमा क्रियाशील पत्रकारहरू यसरी स्थलगत रिर्पोटिङ जानुले त्यस क्षेत्रका विविध विषयमा खबर सम्प्रेषण हुने विश्वास व्यक्त गरे। लाङटाङ क्षेत्र विश्व बजारमा आकर्षक गन्तव्य भएपनि बफर जोन सहित ग्रामीण जीवनशैली, संस्कृति, परम्परा, भाषा र साहित्य लगायतका विषयमा खोज पत्रकारिता गर्न पनि सुझाए ।
यसका साथै अध्यक्ष बकेले भक्तपुरको रानीकोट ऐतिहासिक, प्राचीन र पौराणिक महत्वको गन्तव्य भएको बताए । तत्कालीन राजाहरुको दरबारदेखि महाभारतको युद्धसँग जोडिएको यस क्षेत्र इतिहास र स्मृतिका कथनहरूमा जोडिएको उनले बताए । रानीकोट पर्यटकीय महत्वको गन्तव्य भएकोले यसको प्रचार प्रसारमा सबैको साथ र सहयोग अझै हुनेमा उनले विश्वास व्यक्त गरे।
प्राचीन मात्रै होइन, प्रकृतिको अद्भूत सुन्दर दृष्यहरूको अवलोकन पनि गर्न सकिने भएकोले यस क्षेत्र पर्यटकको रोजाइमा परेको उनले बताए । राजधानीदेखि करिब २५ किलोमिटर दक्षिण पूर्वमा पर्ने रानीकोट तत्कालीन भक्तपुरका राजा भूपतीन्द्र मल्ल गृष्मकालीन सिजनमा बसाइ सर्ने गरेको इतिहासमा पाइन्छ।
लुम्बिनी पर्यटन सञ्चार प्रतिष्ठान र बागमती प्रदेश पर्यटन मन्त्रालयको सहकार्यमा त्यस क्षेत्रको कार्यक्रम तथा खोजमूलक खबर सम्प्रेषणका लागि पत्रकारहरू निस्किन लागेका हुन्। २०८२ साल ज्येष्ठ २० गतेदेखि यही ज्येष्ठ २४ गतेसम्म पत्रकारहरू यस क्षेत्रमा रहने छन्।





