
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याहरू समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा सरकार जानकार रहेको भन्दै निजी क्षेत्रसँग सहकार्य गर्दै समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभएको हो ।
उहाँले सरकार बनेलगत्तै अर्थतन्त्रमा देखिएका सिथिलता लाई अन्त्य गर्नका लागि ध्यान केन्द्रीत गरेको र त्यसका लागि आवश्यक कानून समेत निर्माण गरिएको जानकारी दिनुभयो ।कानून संशोधनको प्रक्रियाका साथै निजि क्षेत्रका अन्य समस्या समाधान गर्न सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको भन्दै पौडेलले अहिले आयोगको सुझावका आधारमा सरकार अघि बढिरहेको बताउनुभयो । आयोगको सुझावहरूलाई क्रमश कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ । उहाँले बजेटका साथै अन्य कानूनी संरचना निर्माण गरेर भएपनि अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने बताउनुभयो ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भैसकेको र त्यसले निजी क्षेत्र प्रवद्र्धनलाई सकारात्मक रुपमा लिएको सन्दर्भमा आगामी बर्षको बजेटले लगानीलाई प्रोत्साहन गर्ने अपेक्षा लिएको जानकारी दिनुभयो ।
अध्यक्ष ढकालले अर्थतन्त्र तलायमान बनाउन व्यवसायी, कर्जा सुरक्षण निगम, सरकार र विकास साझेदारहरु समेतले जोखिम बेहोर्ने गरि एक करोड रुपैयासम्मको कर्जा परियोजना धितोमा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।




