
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले श्रमिकलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिनुभएको छ । उहाँले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट श्रमिकलाई अधिकार सम्पन्न गराउने तथा नीति तथा कार्यक्रम र बजेट रोजगारी वृद्धिमा केन्द्रित हुनुपर्ने बताउनु भयो ।
अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आन्तरिक रोजगारको बृद्धि गर्दै मुलुकलाई समृद्ध बनाउन सकिने भएकाले श्रमिकहरूलाई पूर्णाधिकार सम्पन्न गराएर रोजगारी वृद्धि गर्ने गरि सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने आफ्नो मान्यता रहेको बताउनुभएको हो ।
आफ्नै देशमा ज्ञान सीपको विकास र लगानी गर्ने वातावरण बनाएर समृद्ध नेपालको सपना पुरा गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले असङ्गठित श्रमिकहरूको पहिचान गरि पञ्जिकरणका लागि स्थानीय तहमा श्रमिक डेस्क राख्ने र सामाजिक सुरक्षाको दायरामा ल्याउन पहल गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।




