
काठमाडौँ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य सहायता तथा राहत कार्यक्रमलाई एकीकृत गरेर व्यवस्थापन गरिने बताउनुभएको छ ।
मन्त्री पौडेलले विभिन्न निकाय तथा मन्त्रालयमार्फत छरिएर सञ्चालन भइरहेका स्वास्थ्य सहायता तथा राहत कार्यक्रमहरूलाई एउटै संरचनाभित्र समेटेर एकीकृत व्यवस्थापन गरिने बताउनुभएको हो । उहाँले डुब्न लागेको स्वास्थ्य बिमालाई उतार्नका लागि नियमित आम्दानी सुरक्षित कोष निर्माण हुने गरि विकास गर्नुपर्ने बताउनुभयो । हरेक वर्ष एक खर्चभन्दा बढि आम्दानी हुने गरि बिमाको आय प्रणाली विकास हुनुपर्ने उहाँको भनाइ छ ।
उहाँले योगदान गर्न सक्ने नागरिकले योगदान गर्ने र योगदान गर्न नसक्नेहरूका लागि राज्यले प्रिमियम दिनुपर्ने जिकिर गर्नुभयो । मन्त्री पौडेलले बिमाको झुटो दाबी गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।
वार्षिकोत्सवका असरमा अस्पतालमा स्थापना गरिएको मध्यपुर रक्तसञ्चार केन्द्रको मन्त्री पौडेलले उद्घाटन गर्नुभएको थियो । अस्पतालले दैनिक एक हजार भन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिरहेको जनाएको छ ।




