
पर्सा । पर्सा क्षेत्र नं १ का उम्मेदवार अनिल रुङगटाले जगरनाथपुर गाउँपालिका वडा नं २२ मा व्यापक घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन । स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्न पुगेका रुङटालाई स्थानीयवासीहरूले उत्साहपूर्ण तथा भव्य स्वागत गरेका थिए ।रुङ्गटाको आगमनसँगै उक्त क्षेत्रको चुनावी माहोल झनै तातेको देखिएको छ । घरघरमा पुगेर मतदातासँग हातेमालो गर्दै उनले जनताका गुनासा, सुझाव र अपेक्षाहरू सुनेका थिए । कार्यक्रममा समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो भने टोल टोलमा रौनकता छाएको देखिन्थ्यो ।

भेटघाटका क्रममा स्थानीयवासीहरूले रुङटालाई सच्चा विकासप्रेमी तथा सुख दुःखका साथीका रूपमा चित्रित गर्दै अत्यधिक मतले विजयी गराउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन । उनीहरूले विगतमा समेत जनताका समस्यामा साथ दिएको उल्लेख गर्दै यसपटक झन् मजबुत समर्थन रहने दाबी गरेका हुन ।बुथ सभापति नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा स्थानीयले रुङटालाई फूलमाला, अबिर तथा हार्दिक शुभकामनासहित स्वागत गरेका थिए। घरदैलो अभियानका क्रममा टोलवासीले खुलेर समर्थन जनाउँदै क्षेत्रको समग्र विकासका लागि सक्षम नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका हुन ।

भेटघाटका क्रममा रुङटाले विस्तृत मन्तव्य राख्दै क्षेत्रीय विकासलाई आफ्नो पहिलो प्राथमिकता रहने स्पष्ट पारेका छ्न । उनले रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज तथा सुलभ स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण र महिला सशक्तीकरणलाई विशेष ध्यान दिइने बताउनु भयो । जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो, त्यसैले जनअपेक्षाअनुसार पारदर्शी र उत्तरदायी ढङ्गले काम गर्ने बताउनु भयो ।

कार्यक्रममा स्थानीय युवाहरूले सीप विकास तालिम, खेलकुद पूर्वाधार विस्तार, स्वरोजगारका अवसर सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनलाई मुख्य एजेन्डा बनाउनुपर्ने धारणा व्यक्त गरेका छन । उनीहरूले युवाशक्तिलाई उत्पादन र नेतृत्वमा जोड्ने नीति आवश्यक रहेको बताएका हुन ।
महिलाहरूले पनि शिक्षा, स्वास्थ्य र आत्मनिर्भरता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न माग गर्दै सामाजिक सुरक्षा, महिला हिंसा न्यूनीकरण र सशक्तीकरणका योजनामा विशेष ध्यान दिन आग्रह गरेका छन ।
समग्रमा, जगरनाथपुर वडा नं। २२ मा सम्पन्न उक्त घरदैलो तथा भेटघाट कार्यक्रमले चुनावी माहोल थप उत्साहजनक बनाएको देखिन्छ । स्थानीय स्तरमा बढ्दो जनसमर्थनका कारण आगामी निर्वाचनमा कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।




