
पर्सा । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल रुङ्गटाले वीरगंज महानगरपालिका वडा नं। १२ मुर्लीका स्थानीय बुजुर्गहरूलाई भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ।
भेटघाटका क्रममा उम्मेदवार रुङ्गटाले आसन्न निर्वाचनको सन्दर्भ, क्षेत्रको समग्र विकासका प्राथमिकता, सामाजिक सद्भाव कायम राख्ने विषय तथा पार्टी संगठनलाई अझ सुदृढ बनाउने विषयमा स्थानीय बुजुर्गहरू सँग खुला र गहिरो संवाद गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास लगायत स्थानीयस्तरमा देखिएका समस्या र समाधानका उपायबारे समेत छलफल गरिएको थियो।स्थानीय बुजुर्गहरूले नेपाली कांग्रेसले लोकतन्त्र स्थापना, सामाजिक न्याय र समावेशी विकासका लागि खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै पार्टीप्रति आफ्नो भरोसा र समर्थन व्यक्त गरेका थिए । उनीहरूले आगामी निर्वाचनमा समेत नेपाली कांग्रेसलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए ।

सो अवसरमा उम्मेदवार रुङटाले जनताको भावना, सुझाव र अपेक्षालाई आत्मसात गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले संगठनभित्रको आपसी एकता, कार्यकर्ताको सक्रिय सहभागिता तथा जनताको विश्वास नै आगामी निर्वाचनमा जितको बलियो आधार हुने बताउनुभयो। साथै, क्षेत्रको दीर्घकालीन विकासका लागि निरन्तर पहल गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा सहभागीहरूले यस्ता प्रत्यक्ष भेटघाट र संवादले पार्टी र जनताबीचको सम्बन्ध अझ मजबुत बनाएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।




