पर्सा । नेपाली काँग्रेस पर्सा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल कुमार रुङ्गटाले वीरगञ्ज महानगरपालिका वडा नं ८ का मतदातासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्नुभएको छ । “ना भुलेका बा, ना भुलावेके बा, अबकी बार गाछी छापमा मोहर लगावे के वा” भन्ने चुनावी नारासहित उम्मेदवार रुङ्गटाले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आगामी प्रतिनिधि सभा निर्वाचनका विषयमा धारणा आदान प्रदान गर्नुभएको हो ।

नेपाली काँग्रेस वडा नं. ८ का बुथ सभापति छोटेलाल कहारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्षेत्र नं. १ को समग्र विकास, जनताको अपेक्षा तथा निर्वाचनका एजेण्डाबारे दोहोरो छलफल भएको थियो । कार्यक्रममा बोल्दै उम्मेदवार रुङ्गटाले जनताको विश्वास र सहभागिताले मात्रै लोकतन्त्र बलियो हुने बताउनु भयो ।  

उहाँले विगतमा भएका कमजोरी स्वीकार गर्दै अब विकास, रोजगारी र सुशासनलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उम्मेदवार रुङ्गटाले पर्सा क्षेत्र नं १ का जनताको शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा रोजगारीका समस्या समाधानलाई प्राथमिकतामा राख्ने उल्लेख गर्दै जनतासँग सधैं सुख दुःखमा साथ दिने जनप्रतिनिधि बन्ने बताउनुभयो ।उहाँले जनताको भरोसा नै मेरो सबैभन्दा ठूलो शक्ति रहेको र जनताहरूले दिएको मतको सम्मान गर्दै क्षेत्रको समग्र विकासका लागि इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भेटघाटमा सहभागी स्थानीय मतदाताहरूले नेपाली काँग्रेस उम्मेदवार रुङ्गटा क्षेत्र नं १ बाट भारी मतले विजयी हुने विश्वास व्यक्त गरेका छन् । स्थानीयहरूका अनुसार जनतासँगको नजिकको सम्बन्ध, सरल व्यवहार र विकासप्रतिको प्रतिबद्धताका कारण रुङ्गटाप्रति जनसमर्थन बढ्दो रहेको छ । कार्यक्रमले निर्वाचनको माहोल थप उत्साहजनक बनेको सहभागीहरूको भनाइ छ । भेटघाटमा हजारौं समर्थकहरूको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0