पर्सा। निजी तथा आवासीय विद्यालयहरूले नेपाली शिक्षाको गुणस्तर सुधार र सर्वसाधारणको शिक्षामा पहुँच विस्तारमा उल्लेखनीय भूमिका खेले पनि राज्यबाट अपेक्षित मूल्याङ्कन र सहयोग नपाएको गुनासो निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल प्याब्सन ले व्यक्त गरेको छ । 


वीरगंजमा आयोजित प्याब्सन पर्साको दोस्रो जिल्ला परिषद् भेलामा बोल्दै प्याब्सनका केन्द्रीय उपाध्यक्ष किशोर गौतमले निजी तथा आवासीय विद्यालयहरूले देशको शैक्षिक विकासमा खेलेको भूमिकाको चर्चा गर्नुभयो । उहाँले नेपाली शिक्षाको गुणस्तर उकास्न र आम नागरिकको शिक्षामा पहुँच विस्तार गर्न निजी विद्यालयहरूको योगदान महत्वपूर्ण रहे पनि राज्यबाट अपेक्षित मूल्याङ्कन र सहयोग नपाएको गुनासो व्यक्त गर्नुभयो । साथै, निजी विद्यालयलाई राज्यको शैक्षिक साझेदारका रूपमा स्वीकार गर्दै नीतिगत स्पष्टता, समान व्यवहार र सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।


प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पूरण प्रधानले गुणस्तरीय शिक्षा, अनुशासन र प्रविधिमैत्री शिक्षण प्रणालीमार्फत विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन निजी विद्यालयहरू निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट टाढा राखी दीर्घकालीन नीति निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले प्याब्सनले शिक्षकहरूको क्षमता अभिवृद्धि, विद्यार्थीको सर्वाङ्गीण विकास तथा अभिभावक विद्यालयहरुबीचको विश्वास मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै सङ्गठनलाई अझ सशक्त बनाउँदै लैजान सबै सदस्यलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नु भयो । 


उक्त अवसरमा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले निजी तथा आवासीय विद्यालयहरूले जिल्लामा शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले निजी विद्यालयहरू नाफामुखी मात्रै होइनन्, सामाजिक उत्तरदायित्व वहन गर्दै गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्य प्रवर्द्धनमा अग्रसर रहेको उल्लेख गर्दै बदलिँदो शैक्षिक प्रणालीअनुसार प्रविधिमैत्री शिक्षा, दक्ष जनशक्ति उत्पादन र विद्यार्थीको सर्वाङ्गीण विकासमा प्याब्सन पर्सा प्रतिबद्ध रहेको बताउनुभयो । अध्यक्ष चौधरीले जिल्लाभित्र रहेका सम्पूर्ण सदस्य विद्यालय, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूको सहकार्यबाट प्याब्सन पर्सालाई अझ सशक्त, व्यवस्थित र प्रभावकारी संस्थाका रूपमा अघि बढाइने विश्वास व्यक्त गर्नुभयो । 


कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेदुप लामा, इमामुद्दिन अहमद, मधेश प्रदेश प्राज्ञिक सल्लाहकार लालबाबु पटेल, प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार तथा सल्लाहकार हरिश्याम ठाकुर, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, हिसानका केन्द्रीय सदस्य मुकेश गुप्ता, प्याब्सन वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले गरेका थिए ।भेलामा प्याब्सन सदस्य विद्यालयमा १० वर्षभन्दा बढी समयदेखि कार्यरत शिक्षक शिक्षिकाहरू, एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयहरू तथा प्याब्सन मधेश प्रदेश समितिमा मनोनित हुने पदाधिकारी र सल्लाहकारहरूलाई सम्मान गरिएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0