
पर्सा । क्रियाशील युवा पत्रकार मञ्च नेपालद्वारा भारतको राजधानी दिल्लीस्थित नेपाली दूतावासमा नेपालका राजदूत डा. शंकरप्रसाद शर्मासँग एक सौहार्द्रपूर्ण तथा अर्थपूर्ण भेटघाट सम्पन्न भएको छ ।
भेटघाटका क्रममा नेपाल भारत सम्बन्ध, आर्थिक सहकार्य, सामाजिक र राजनीतिक अवस्था, शिक्षा तथा सञ्चार क्षेत्रको वर्तमान अवस्था र भावी सम्भावनाबारे विस्तृत छलफल गर्नुको साथै दुवै देशका समसामयिक विषयवस्तुमा पत्रकारिताको भूमिकाबारेमा समेत विचारविमर्श भएको थियो ।

कार्यक्रममा बोल्दै नेपाली दूतावासका राजदूत डा। शंकरप्रसाद शर्माले नेपाल भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र जनस्तरमा गहिरो रहेको उल्लेख गर्दै यस्ता भेटघाटले आपसी समझदारी र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सञ्चारकर्मीहरूले सत्य, तथ्यपरक र जिम्मेवार पत्रकारिता मार्फत समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा क्रियाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष प्रणय कुमारले मञ्चको उद्देश्य, गतिविधि तथा भावी योजनाबारे जानकारी गराउँदै नेपाल र भारतबीचको सम्बन्ध मजबुत बनाउन पत्रकारिता क्षेत्रले महत्वपूर्ण योगदान दिन सक्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाली पत्रकारहरू विशेषगरी युवा पुस्ताले अन्तर्राष्ट्रिय स्तरमा अनुभव साटासाट गर्ने अवसर पाउनु सकारात्मक रहेको बताउनुभयो । उहाँले नेपाली दूतावासले सधैं पत्रकारहरूलाई मार्गदर्शन र सहकार्य गर्दै आएकोप्रति आभार व्यक्त गर्नुभयो ।
मञ्चका उपाध्यक्ष आनन्द पटेलले मन्तव्य व्यक्त गर्दै नेपाल भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाउन सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले दुवै देशका सञ्चार माध्यमबीच सहकार्य, अनुभव आदानप्रदान तथा युवा पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि यस्ता भेटघाट कार्यक्रमहरू प्रभावकारी हुने धारणा राख्नुभयो ।

भेटघाट कार्यक्रमको अन्त्यमा क्रियाशील युवा पत्रकार मञ्च नेपालको तर्फबाट राजदूत डा. शंकरप्रसाद शर्मा सहित उपस्थित अतिथिहरूलाई खादा तथा माला लगाई मायाको चिनो प्रदान गरिएको थियो ।
उक्त भेटघाट कार्यक्रममा मञ्चका महासचिव वीरेन्द्र प्रसाद साह, कोषाध्यक्ष उपेन्द्र कुमार बरै, कार्यसमिति सदस्यहरू सुनिल ओझा, ओमप्रकाश सर्राफ, कन्हैयालाल बर्णवाल, मुकेश यादव, उमेश चौधरी, आदित्य शर्मा लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।





