
काठमाडाै । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगंज नाका हुँदै आठ अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरको सवारिसाधन आयात भएको छ ।वीरगंज भन्सार कार्यालयका अनुसार सो अवधिमा सवारिसाधन आयातबाट सात अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । भन्सार कार्यालयका भन्सार अधिकृत मातृका भट्टराईका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सवारी साधनको आयात मात्रा र राजस्व दुवैमा वृद्धि भएको र गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब १९ करोड मूल्यका सवारीसाधन आयात भएका थिए भने पाँच अर्ब ९५ करोड राजस्व संकलन भएको थियो ।

चालु आर्थिक वर्षको तीन महिनामा तीन अर्ब ४१ करोड मूल्यका २४ हजार ९ सय ३९ वटा अनअसेम्बल मोटरसाइकल आयात भएको ती मोटरसाइकलबाट तीन अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सार अधिकृत भट्टराईले बताउनु भयो । उक्त अवधिमा ६२ करोड २४ लाख मूल्यका ३ सय ३० जीप, कार र भ्यान भित्रिएका छन्, जसबाट एक अर्ब ७५ करोड राजस्व संकलन भएको हो । गत वर्ष सोही अवधिमा ७६ करोड ५८ लाख मूल्यका ४ सय ३२ जीप, कार र भ्यान आयात हुँदा एक अर्ब ९६ करोड रुपैया राजस्व संकलन भएको थियो ।

वीरगंज नाका हुँदै चालु आर्थिक बर्षको तीन महिनामा मात्र ६८ करोड पाँच लाख मूल्यका २ सय २९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको छ । भन्सार अधिकृत भट्टराईले सवारीसाधनबाट ४५ अर्ब ७२ लाख रुपैयाँ राजस्व संकलन भएको बताउनु भयो । गत वर्ष सोही अवधिमा १४ करोड ४९ लाख मूल्यका ९७ वटा विद्युतीय सवारीसाधन मात्र आयात भएका थिए र ९ करोड ११ लाख राजस्व संकलन भएको थियो ।






