
काठमाडौँ । तिहार पर्व नजिकिएसँगै उपत्यकामा शान्ति सुरक्षा मजबुत गराउन काठमाडौँ उपत्यका प्रहरीले विशेष सुरक्षा योजना बनाई लागू गरेको छ । योजनाअनुसार उपत्यकाभित्र ६ हजार १ सय ६ जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ।
उपत्यका प्रहरी कार्यालयका अनुसार तिहारको अवसरमा हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रणमा लिन व्यापक चेकजाँच तथा निगरानी अभियान सञ्चालन गरिनेछ। यसका लागि दिवा र रात्रिकालीन गस्ती परिचालनलाई बढाइएको छ भने आकस्मिक चेकजाँचलाई समेत वृद्धि गरिने भएको छ । त्यसैगरी प्रविधिको प्रयोग मार्फत निगरानी बढाउदै संवेदनशील क्षेत्रहरूमा सुरक्षा सतर्कता बढाइने बताइएको छ।
चाडपर्वको मौका छोपेर हुने चोरी, लुटपाट, झैँ झगडा लगायत आपराधिक गतिविधिबारे सूचना संकलनलाई प्राथमिकता दिइएको छ। यस्ता गतिविधिहरू नियन्त्रण गर्न सादा पोशाकमा समेत ठूलो सङ्ख्यामा प्रहरी खटाइनेछ।
त्यस्तै, तिहारसँगै चल्ने जुवा र सट्टेबाजी नियन्त्रणका लागि विशेष प्रहरी टोली परिचालन गरिने जनाइएको छ।
उपत्यका प्रहरीका अनुसार सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउन नागरिकहरूको सहयोग आवश्यक रहेको र कुनै पनि शङ्कास्पद गतिविधि देखेमा तत्काल नजिकको प्रहरी इकाई वा हेल्पलाइनमा सम्पर्क गर्न आग्रह गरिएको छ।




