काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिमको राजनीतिमा करिव २५ वर्षजति भीम रावलको रापतापको अवस्था थियो । उनको त्यो रापतापलाई पछ्याउने समर्थक पनि उनका बाक्लै थिए । तर उनको राजनीतिको उत्तरार्धतिर उनलाई एमालेबाट निकालिएपछि उनको राजनीतिक माहोलले कोल्टे फेरेको मात्र होइन, उनी गुमनाम बन्न थालेका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएकै कारण राष्ट्रिय राजनीतिमा समेत राम्रो प्रभाव बनाइरहेका रावल एमालेबाट निकालिएका थिए । एमालेबाट निकालिएका रावलसँग विकल्पहरू सीमित थिए । एमालेबाट निकालिएपछि ०८१ पुस मा काठमाडौँमा पत्रकार सम्मेलन गरी मातृभूमि जागरण अभियान घोषणा गरेका थिए  रावलले । तर उनले सुरुमा जुन रापताप देखाएका थिए, पछिल्लो समय त्यो सेलाउँदै गएको देखिन्छ । मातृभूमि जागरण अभियान घोषणा गरेलगत्तै उनी गृह जिल्ला अछाम पुगेका थिए । 

अछाममा करिब एक महिना उनले विभिन्न ठाउँमा भेलाहरू आयोजना गरे, भेटघाट गरे र आफ्ना समर्थकहरूलाई सङ्गठित गरे । त्यस क्रममा सुदूरपश्चिमका अन्य पहाडी जिल्लाहरूमा पनि उनले दौडधुप गरे । तत्कालीन अवस्थामा अभियान मात्र घोषणा गरेका उनले पार्टी निर्माण गर्ने उद्घोष गरेका थिए । उनको पार्टी निर्माण गर्ने घोषणाको सात महिना बितिसकेको छ । तर उनको पार्टी निर्माण त हुन सकेको छैन नै, उनको कार्यकर्ता भेटघाट पनि विस्तारै सेलाउँदै गएको देखिन्छ । सुदूरपश्चिममा एमालेलाई लगभग २५ वर्ष रावलले बलियो रूपमा उपस्थित गराएका थिए । एमालेमै उनले झण्डै ५० वर्ष काम गरे । तर, अहिले मूलधारबाट बाहिर छन् । हार नमान्ने भनेर अभियान छेडेका रावल त्यसयता काठमाडौँ अछाम ओहोरदोहोर गर्दै आएका छन ।

 विभिन्न राजनीतिक परिस्थितिमा सामाजिक सञ्जालमार्फत आफ्ना अभिव्यक्ति सार्वजनिक गरिरहेका छन । यद्यपि उनी पहिले जस्तो सक्रिय देखिदैनन् । उनले आफूलाई साथ दिन खोज्ने ठूलो पक्ति तयार भएको अभिव्यक्ति दिने गरेको भएपनि उनले दाबी गरेजस्तो अवस्था नरहेको राजनीतिका जानकारहरूको तर्क छ । राजनीतिक आधार तयार भएपछि पार्टी खोल्ने बताउँदै आएपनि परिस्थिति उनको अनुकुल नदेखिएको विश्लेषण हुने गरेको छ । एमालेमै रहँदा भीम रावललाई केही सुदूरपश्चिम क्षेत्रका साथै अन्य नेताहरूले साथ दिएको भएपनि अहिले भने उनको पक्षमा प्रभावशाली नेताहरू देखिदैनन् । एमालेमै रहँदा उनलाई झपट रावल, दयालबहादुर शाही लगाएतले साथ दिदै आएका थिए भने कर्ण थापा लगाएतका नेताहरू समेत उनलाई एमालेले कारवाही गर्न खोज्दा उनको साथमा देखिएका थिए । यद्यपि अहिले एमालेका केन्द्रिय स्तरका नेताहरुको साथ उनलाई भएको देखिदैन । त्यसैले पनि सुरुवाती समयमा भीम रावलले उस्तै रापताप प्राप्त भैरहने जुन अपेक्षा गरेका थिए, त्यसो हुन सकेको देखिदैन । 

उनको राजनीतिक यात्रालाई यसले समेत प्रभाव पारेको छ । त्यति मात्र होइन, जुन समयमा उनले अभियानको घोषणा गरेका थिए त्यस लगत्तै राष्ट्रिय राजनीतिमा उत्पन्न भएको आन्दोलनहरुको अवस्थाले समेत उनको अभियानलाई ओझेलमा पारिदिएका छन । रावलको अभियान घोषणा लगत्तै शिक्षक आन्दोलन, राजावादीहरुको आन्दोलन, समाजवादी मोर्चा लगाएको प्रदर्शनले समेत उनको अभियानबाट आम मानिसको ध्यान अन्यत्रै मोडेको देखिन्छ । यिनै सवैजसो कारणले एमालेबाट वर्हिगमनपछि भीम रावल गुमनाम जस्तै देखिएका छन । बाम विश्लेषकहरु पार्टी छाडेर जाने राधाकृष्ण मैनाली, सीपी मैनाली, वामदेव गौतम लगाएतकै नेताको अवस्था रावलको पनि हुने विश्लेषण गर्ने गरेका छन । यद्यपि अस्तित्वको खोजिमा रहेका रावलको अवस्था के हुन्छ त्यो भने समयले नै देखाउने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0