
झापा, १२ साउन । कोशी प्रदेशका सबै १४ जिल्लामा डेंगीको सङ्क्रमण फैलिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार, प्रदेशभर हाल ३ हजार १८१ जना डेंगी सङ्क्रमित छन्, जसमध्ये तीन जनाको ज्यान गएको छ। तथ्याङ्कले पहाडी जिल्लामा सङ्क्रमितको सङ्ख्या न्यून रहे पनि तराईका चार जिल्लामा यसको प्रभाव बढी देखिएको देखाउँछ।
हालसम्म प्राप्त तथ्याङ्कअनुसार, सबैभन्दा बढी सङ्क्रमित मोरङमा ९१३ जना छन्। त्यसपछि झापामा ८९७, सुनसरीमा ३७७, उदयपुरमा २७५, भोजपुरमा २२६, धनकुटामा १४३, ओखलढुङ्गामा १२१, पाँचथरमा ७०, खोटाङमा १०, ताप्लेजुङमा २, इलाममा ५, सोलुखुम्बुमा ६, र तेह्रथुममा २ जनामा डेंगीको सङ्क्रमण देखिएको छ।
जनस्वास्थ्य अधिकृत खत्रीले विगत ५० वर्षको अवधिमा विश्वमा डेंगीको सङ्क्रमण ३० गुणाले बढेको पाइएको बताइन्। यसको रोकथामका लागि प्रत्येक जिल्लामा स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीहरूद्वारा खोजपड्ताल र नष्ट गर्ने कार्यक्रम सञ्चालन भइरहेको छ।
उनले एडिस् एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोकेमा डेंगीको सङ्क्रमण हुने हुँदा पूरा बाहुला भएको वा शरीर पूरै ढाकिने लुगा लगाउन अनुरोध गरिन्। खत्रीले भनिन्, “डेंगी हुनबाट बच्ने एउटै मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिने हो। घर वरिपरि सफा राख्ने र पानी जम्ने भाँडाकुँडा हटाउने गरेमा पनि एडिज जातको लामखुट्टेबाट बच्न सकिन्छ।“
खत्रीका अनुसार, डेंगीका मुख्य लक्षणहरूमा असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, शरीरमा राता बिमिरा आउने, वाकवाकी लाग्नु वा बान्ता हुनु आदि पर्छन्। यी लक्षणका आधारमा चिकित्सकहरूले किटको माध्यमबाट चेकजाँच र उपचार गर्ने गरेको उनले बताइन्।





