
काठमाडौँ । लामो समयदेखि नेपाली राजनीतिको लगाम घुमिफिरी आफ्नो हातमा पार्दै आएका ठूला दलमा मुल नेतृत्व परिवर्तनको बहसले स्थान पाउँदै छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा नेतृत्व परिवर्तनको विषयले स्थान पाएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विकल्पका रुपमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई उभ्याउने कोसिस केही नेताले गरेको भएपनि नेतृत्वका लागि संस्थापन समूहले सुरुमै उनको बाटो रोकेको छ । भण्डारी समूह र वर्तमान अध्यक्ष ओली समूहबीच यही विषयमा अहिले वाकयुद्ध जस्तै अवस्था देखिन्छ । एमालेको संस्थापन पक्षले भण्डारीको बाटो रोकेपनि लामो समयदेखि उकुस मुकुस भएको अन्य नेता कार्यकर्ताको मानसिकताले पार्टी विभाजन पनि हुनसक्ने तर्क गर्नेहरू पनि छन ।
यद्यपि अहिले नै त्यस्तो अवस्था भने देखिदैन । यता संसदको सबैभन्दा ठूलो दल कांग्रेसमा सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विकल्पको विषयमा अन्य नेताहरुले खुलेरै विषय उठान गरेका छन । यद्यपि यसरी नेतृत्व परिवर्तनको विषय उठाउने नेताहरूनै उनीहरूको विकल्पमा को भन्ने विषयमा भने अलमलमा नै देखिन्छन । ठूला दलमा नेतृत्व परिवर्तनको बहस घनीभूत रूपमै चलेको छ । पार्टीका बैठकमा नेताहरूले नेतृत्वको कमी कमजोरी खुट्याउँदै खुलेर आलोचना गरेका छन् । नेतृत्वमाथि साझा प्रश्न समेत गरेका छन् । पार्टीका नेतामाथि नेतृत्व हस्तान्तरणबारे साझा प्रश्न उठेको छ । नेतृत्व हस्तान्तरणसँग जोडेर उठाइएका प्रश्न कांग्रेस र माओवादीमा समान छन् । यद्यपि अरु विषय र पृष्ठभूमि भने दुवै पार्टीमा फरकफरक छन् । नेपाली कांग्रेसको सभापतिमा हाल शेरबहादुर देउवा दोस्रो कार्यकाल सम्हालिरहेका छन् । २०७८ सालमा सम्पन्न १४ औँ महाधिवेशनमार्फत डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भएका हुन् ।
विधानतः देउवाले तेस्रो कार्यकालको नेतृत्व गर्ने छैनन् तर आगामी २०८२ सालमा गर्नुपर्ने १५ औँ महाधिवेशन देउवाले अनेक बहानामा पर सार्ने हुन् कि भन्ने त्रास नेताहरूमा देखिन्छ । सोही त्रासका कारण नेताहरूले समयावधिभित्र महाधिवेशन नहुने हो कि भनेर आशङ्का मिश्रित प्रश्न गरेका छन् । त्यसो त कांग्रेसको संस्थापन इतर समूहले वर्तमान सत्ता समीकरण मार्फत प्रधानमन्त्रीको पालो कुरिरहेका वर्तमान सभापति शेरबहादुर देउवालाई समेत रोक्ने प्रयासमा देखिन्छ । त्यसका लागि इतर समूहको नेतृत्व गरिरहेका शेखर कोइरालाले अन्य दलका नेताहरुसंगको भेटघाट समेत बढाएका छन । कोइरालाको आकांक्षा कांग्रेसमा पुरा हुने संभावना कम नै देखिन्छ । यद्यपि कांग्रेसमा समेत यस्तै गतिविधि बढ्दै गए त्यसले पार्टीमा विभाजन ल्याउनसक्ने जोखिम देखिन्छ ।
यता माओवादी केन्द्रमा उपमहासचिवहरु जनार्दन शर्मा र वर्षमान पुन दुवैले अध्यक्ष दाहाललाई नेतृत्व हस्तान्तरण गर्न दबाब बढाएका छन् । शर्मा र पुनको भाषा शैली फरकफरक भए पनि आशय दाहालले नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने देखिन्छ । माओवादी स्थायी कमिटी बैठकमा नेता शर्माले त लिखित डकुमेन्ट नै पेस गरेका थिए कुनै समय । कांग्रेसमा छुट्टै र माओवादीमा छुट्टै मेलो भएपनि अहिले दुवैतिर नेतृत्वमाथि साझा प्रश्न उठेको छ नेतृत्व हस्तान्तरणको । एमालेमा पनि नेताहरुले ओलीको विकल्प खोज्ने प्रयास नगरेका होइनन । तर ओलीको विरोध गर्दा भीम रावलको अवस्था आउन सक्ने भएका कारण ओलीका सामु उनको विकल्प खोज्नेहरु निरीह देखिएका छन । नेपालको सत्ता राजनीतिको लगाम घुमीफिरी ओली, दाहाल र देउवाको हातमाभन्दा पर पुगेको छैन ।
तर अहिले भने तिनै अध्यक्षको विकल्पको खोजि सुरु हुँदा तीनै नेता समयक्रमसंगै पार्टीमै पनि कमजोर बन्दै जान थालेको पुष्टि हुने गरेको छ । यदपी नेतृत्व परिवर्तनको विषय उठान गर्नेहरुनै अवको नेतृत्वमा को भन्ने विषयमा अन्यौलमै रहदा यसै होला भन्न सकिने अवस्था नभएपनि तीनै नेताहरुले केही समयमै नेतृत्वबाट विश्राम लिनुपर्ने अवस्था आउन सक्ने भने सजिलै अनुमान गर्न सकिन्छ ।




