सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचार गरेको पुष्टि भए जोकोहीमाथि कारवाही हुने बताउनु भएको छ । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले भ्रष्टाचारी मन्त्री होस् वा अन्य कुनै पदमा व्यक्ति, जो भएपनि कारवाही हुने बताउनु भएको हो । नैतिकताको कुरा उठिसकेपछि सामान्य प्रशासन मन्त्रीले राजीनामा दिइसकेको अवस्थामा, तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने उहाँले बताउनुभयो । उहाँले भ्रष्टाचारका विषयमा सरकारले आँखा चिम्लिएर नबस्ने धारणा राख्नुभयो ।

त्यस्तै प्रवक्ता गुरुङले भिजिट भिसामार्फत स्पेन गएर नफर्केका माथि सरकारले अनुसन्धान सुरु गरिसकेको बताउनुभयो । असार ३० गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५ अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

बैठकले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा खगराज शर्मालाई नियुक्त गरेको छ भने फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यविधि चार महिनाका लागि थप गर्ने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले नेपाली सेनातर्फ एक जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने, एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने र १९ जना सहायक सेनानीहरुको सरुवा गर्ने निर्णय गरेको बताउनु भयो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0