
काठमाडौँ । नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प भएको छ । चिकित्सकहरू उपभोक्ता अदालतको फैसलाविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएपछि बिरामीहरू अस्पतालमा अलपत्र परेका छन ।
उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै सोमबार देशका निजी तथा सरकारी अस्पतालमा चिकित्सकले इमर्जेन्सी बाहेकका सेवा ठप्प पारेका हुन् । आकस्मिक बाहेकका सेवा बन्द भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामीहरू फर्कन बाध्य भएका छन् ।
चिकित्सकीय अभ्यास सम्बन्धी मुद्दामा उपभोक्ता अदालतले गरेको फैसलाले मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको उनीहरूको भनाइ छ । बिभिन्न अस्पतालविरुद्ध परेको मुद्दामा उपभोक्ता अदालतले अस्पताल र उपचारमा संलग्न चिकित्सकलाई क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।
आन्दोलनमा एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल अफिन, एपोन, केमसन, नेपाल डेन्टल एसोसिएसन, नर्सिङ एसोसिएसन, फिजियोथेरापी एसोसिएसन, भेटेरिनरी एसोसिएसन लगाएत समेत ऐक्यवद्धता जनाएका छन् ।




