काठमाडौँ । लामो समयदेखि नेपाली राजनीतिको लगाम घुमिफिरी आफ्नो हातमा पार्दै आएका ठूला दलमा मूल नेतृत्व परिवर्तनको बहसले स्थान पाएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा नेतृत्व परिवर्तनको विषयले स्थान पाएको छ । लामो समयदेखि ठूला दलका शीर्ष नेताले आलोपालो सिंहदरवारको सिंहासन सम्हालेको भएपनि अव भने सिंहदरवारको सिंहासन मात्र होइन, उनीहरूको सानेपा, च्यासल र पेरिसडाँडाको कुर्सी समेत जोखिममा परेको विश्लेषण हुने  गरेको छ । कांग्रेसमा सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विकल्पको विषयमा अन्य नेताहरूले खुलेरै विषय उठान यसअघिदेखि नै गर्दै आएका छन । एमाले अध्यक्ष ओलीको विकल्पका विषयमा नेताहरूले खुलेर कुरा गर्न नसकिरहेको अवस्थामा उनको विकल्पमा नेतृत्वको आकाङ्क्षा सहित पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियताले एमालेमा पनि नेतृत्वको विकल्प खोज्नेहरुलाई बल पुगेको छ । माओवादी केन्द्र र नेपाली कांग्रेसमा त नेतृत्व परिवर्तनको बहस घनीभूत रूपमै चलेको छ । 

दुवै पार्टीका बैठकमा नेताहरूले नेतृत्वको कमी कमजोरी खुट्याउँदै खुलेर आलोचना गरेका छन् । नेतृत्वमाथि साझा प्रश्न समेत  गर्ने गरेका छन् । दुवै पार्टीका नेतामाथि नेतृत्व हस्तान्तरणबारे साझा प्रश्न उठेको छ । नेतृत्व हस्तान्तरणसँग जोडेर उठाइएका प्रश्न कांग्रेस र माओवादीमा समान छन् । यद्यपि अरु विषय र पृष्ठभूमि भने दुवै पार्टीमा फरकफरक छन् । नेपाली कांग्रेसको सभापतिमा हाल शेरबहादुर देउवा दोस्रो कार्यकाल सम्हालिरहेका छन् । २०७८ सालमा सम्पन्न १४ औँ महाधिवेशनमार्फत डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भएका हुन् । 

विधानतः देउवाले तेस्रो कार्यकालको नेतृत्व गर्ने छैनन् तर आगामी २०८२ सालमा गर्नुपर्ने १५ औँ महाधिवेशन देउवाले अनेक बहानामा पर सार्ने हुन् कि भन्ने त्रास नेताहरूमा देखिन्छ । सोही त्रासका कारण नेताहरूले समयावधिभित्र महाधिवेशन नहुने हो कि भनेर आशङ्का मिश्रित प्रश्न गरेका छन् । यता माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष दाहाललाई नेतृत्व हस्तान्तरण गर्न दबाब बढाएका छन् । शर्माको भाषा शैली फरक भएपनि आशय दाहालले नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने देखिन्छ । कांग्रेसमा छुट्टै र माओवादीमा छुट्टै मेलो भएपनि अहिले दुवैतिर नेतृत्वमाथि साझा प्रश्न उठेको छ नेतृत्व हस्तान्तरणको । त्यसो त एमालेमा पनि कतिपय नेताहरूले ओलीको विकल्प खोज्ने प्रयास लामो समयदेखि जारी राखेका थिए । यद्यपि उनीहरू भीम रावलको अवस्था आउने डरले खुल्न सकेका थिएनन । उनीहरू ओलीको विकल्पका लागि उपयुक्त पात्रको खोजीमा देखिन्थे । अहिले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेपछि केहि नेताहरु ओलीको विकल्पका विषयमा खुलेर बोल्न थालेका छन । आम मानिसले समेत घुमिफिरी सत्ता राजनीति ठूला दलका यिनै शीर्ष नेताहरुको हातमा पुगेको मन पराएका छैनन । 

त्यसैले नेतृत्व परिवर्तनको यो प्रयासमा सम्वन्धित पार्टीका अन्य कार्यकर्ताले समेत साथ दिने राजनीतिका जानकाहरुको विश्लेषण रहेको छ । नेपालको सत्ता राजनीतिको लगाम घुमीफिरी ओली, दाहाल र देउवाको हातमाभन्दा पर पुगेको छैन । तर अहिले भने तिनै अध्यक्षको विकल्पको खोजि सुरु हुँदा तीनै नेता समयक्रमसंगै पार्टीमै पनि कमजोर बन्दै जान थालेको पुष्टि हुने गरेको छ । यसले ओली, दाहाल र देउवाहरुले घुमिफिरी सिंहदरवारको सिंहाशनमा स्थान बनाउने गरेको भएपनि अबभने सिंहदरबारको सिंहासन मात्र होइन, उनिहरुका लागि सानेपा, च्यासल र पेरिसडाँडाको कुर्सी समेत जोखिममा परेको विश्लेषण हुने गरेको छ । यदपी नेतृत्व परिवर्तनको विषय उठान गर्नेहरुनै अवको नेतृत्वमा को भन्ने विषयमा अन्यौलमै छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0